युभेन्ट्समाथि नापोलीको पुनरागमन जित

युभेन्ट्समाथि नापोलीको पुनरागमन जित

नापोलीले इटालियन सिरी ए मा युभेन्ट्समाथि पुनरागमन जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई २-१ गोल ले पराजित गरेको हो । नापोलीको मैदानमा भएको खेलमा युभेन्ट्सले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा पराजित भएको हो ।

खेलको दशौँ मिनेटमै अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा नापोलीले पुनरागम गर्दै दुई गोल फर्कायो ।खेलको ५७ औं मिनेटमा माटियो पोलीटानोले नापोलीका लागि बराबरी गोल गरे । त्यसपछि ८५ औं मिनेटमा कालिडोउ कोउलीबलीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।

लगातार तेस्रो खेल जित्दै शतप्रतिशत नतिजा निकालेको नापोलीले ९ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १ अंक मात्र रहेको युभेन्ट्स १६औं स्थानमा छ ।