कांग्रेसका पौडेल पक्षधरको भेला आज हुँदै, डडेलधुरा वडा अधिवेशन अस्वीकार गर्ने तयारी

कांग्रेसका पौडेल पक्षधरको भेला आज हुँदै, डडेलधुरा वडा अधिवेशन अस्वीकार गर्ने तयारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेला आज हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे हुने भेलामा सभापति शेरबहादुर देउवा इतरका शीर्ष नेताहरू उपस्थित हुने छन्  ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएपछि पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।

पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति बाँडफाँडमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटी निर्णयका विषयमा छलफल हुने पौडेल पक्षका नेताहरुले बताएका छन् ।

बैठकमा २० जिल्लाको क्रियाशील सूची तत्काल सार्वजनिक गरेर संसोधित कार्यतालिका बमोजिम अधिवेशनको माग गर्ने तयारी छ । प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न २१ जिल्लामा अझै पनि क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन ।

भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ गतेसम्म धकेलिएको छ । नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने तयारी समेत गरेको छ।