दार्चुला–तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

दार्चुला–तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

दार्चुला । यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण शुरु गरिएको खलंगा-तिंकर सडकमा सेनाले काम शुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम शुरु गर्दैछ ।

नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ । निर्माण सामग्री ढुवानीमा केही ढिलाइ भएको हुँदा केही दिनभित्रै तीव्र गतिमा निर्माणको काम अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवम् सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

अहिले निर्माणस्थलमा नेपाली सेना खटिसकेको जानकारी दिइएको छ । केही दिनअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले निर्माण सामग्री सडक निर्माणस्थलमा पुर्‍याएको छ । 

मालका स्थानीय नरेन्द्रसिंह धामीका अनुसार अहिले १५/२० जना सैनिकले मालको ठण्डा ओडारबाट निर्माणकार्य शुरु गर्दैछन् । सडक निर्माणमा प्रयोग हुने सामग्री मालको कोठेधार, सेकनाडी मालमा हेलिकप्टरमार्फत छाडिएको छ ।

स्थानीयवासीका अनुसार आगामी असोज १ गतेदेखि स्थानीय श्रमिक पनि नेपाली सेनासँगै काममा लगाउने तयारी गरिएको छ । विसं २०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म गति लिन सकेको छैन । महाकाली लोकमार्ग, महाकाली करिडोरअन्तर्गत पर्ने उक्त सडक निर्माण शुरु भएको १३ वर्ष भइसकेको छ । 

यो अवधिमा ४३ किलोमिटर हाराहारीमा सडक निर्माणको ट्र्याक खुलाइएको छ । सदरमुकाम खलंगादेखि १३० किलोमिटर लम्बाइको रहेको सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैले बनाउँदै छ भने बाँकी ८७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो । 

यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने बताइएको छ । दार्चुला-तिंकर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज हुने छ । चीनसँगको सीधा व्यापार गर्न सहज हुने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना बताउँछन् । ‘विगतमा यो क्षेत्रमा घोरेटो बाटो भएर चीनबाट समान आयात हुन्थ्यो’, उनले भने, ‘अहिले घोरेटो बाटो नै अवरुद्व भएपछि चीनसँगको व्यापार घटेको छ ।’

व्यासका बासिन्दा बिमल बोहराका अनुसार चीनले अहिले नेपाल-चीन सीमा रहेको पिलर नं १ नजिकै चीनले आफ्नो भूभागमा सडक निर्माण गरेको छ । नेपाल सरकारले पनि समयमै तिंकरसम्म सडक पुर्‍याएको यहाँको व्यापार फस्टाउने छ । 

चालू आवदेखि सो खण्डमा तीव्रताका साथ काम अघि बढ्ने सैनिक प्रवक्ता पौडेल बताउँछन् । सो सडकको करीब ३० किलोमिटर क्षेत्र उत्तराखण्डसँगको सिमाना नजिकै छ । सेनाले सडक निर्मााणका लागि चाहिने विष्फोटक पदार्थ, कम्प्रेसरलगायतका समान ढुवानी गर्दैछ । ‘आशा छ, अब काम तीव्र रुपमा अघि बढ्छ’, पौडेलले भने ।

महाकाली लोकमार्गअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिंकर जोडिँदैछ । यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुनेछ । 

सरकारले गत २०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निणर्यअनुसार यो सडकको काम नेपाली सेनामार्फत गराउने निणर्य गरेको हो । सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई क्याम्प राखेको छ । सडक निर्माणका लागि सेनाको विकास निर्माण निर्देशनालयको सैनिक टोली खटिएको छ ।