सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र एउटा मात्रै प्रतिनिधि सभा सदस्य भएको राष्ट्रिय प्रजातन्त्र पार्टी अनुपस्थित भएको छ।
एमाले सांसदको नाराबाजीका कारण संसद बैठक सहज रुपमा चल्न नसकेपछि सभामुखले सोमबार सर्वदलीय बैठक बोलाएका थिए। तर, संसद् बैठक अवरुद्ध पार्दै आएको नेकपा एमालेले नै सर्वदलीय बैठक 'बहिस्कार' गरेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्।