सर्वदलीय बैठक निष्कर्षविहीन, एमालेसँग संवाद बढाउन सभामुखलाई सुझाव

सर्वदलीय बैठक निष्कर्षविहीन, एमालेसँग संवाद बढाउन सभामुखलाई सुझाव

सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । नेकपा एमालेले संसदमा गरिरहेको अवरोध हटाउन सभामुख सापकोटाले शीर्ष नेताहरूको बैठक डाक्नुभएको थियो तर एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नपुग्दा कुनै निष्कर्ष निस्कन सकेन ।

आजको छलफलमा सबैजसो दलका नेताहरूले एमालेसँग सभामुखले छलफल गर्नुपर्ने र सहमति गरेर संसद् चलाउनुपर्ने सुझाव दिएका छन् । मुख्य विवाद रहेको एमाले नै बैठकमा नआएपछि कुनै निष्कर्ष ननिस्किएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।

सबै नेताले सभामुखले सक्रियता बढाएर एमालेसँग संवाद गर्नुपर्ने सुझाव दिनुभएको ठाकुरले बताउनुभयो ।अध्यक्ष ठाकुरले भन्नुभयो, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निस्कर्षविहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ ।’

माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने भन्दै संसदमा अवराेध गर्दै आएको छ ।