एमालेको अवरोधकाबीच बजेटमाथिको छलफल, संसद बैठक असोज ४ गतेसम्म स्थगित

एमालेको अवरोधकाबीच बजेटमाथिको छलफल, संसद बैठक असोज ४ गतेसम्म स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा लगातार अवरोध गरे पनि सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बेजटमाथिको छलफल सुरु भएको छ । मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राखेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

एमाले सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाउँदै अर्थमन्त्री शर्मालाई प्रस्ताव पेश गर्न समय दिएका थिए । मर्यादापालकको सुरक्षामा रोष्टममा पुगेर अर्थमन्त्री शर्माले प्रस्ताव पेश गरे ।

सो प्रस्तामाथिको छलफलमा एकजनामात्र सांसद नेमकिपाका प्रेम सुवाललले भाग लिए । उनले छलफलका क्रममा एमसीसी अमेरिकी सैन्य रणनीति भएको भन्दै सो सम्झौता लागू गर्न नहुने विचार राखे । उनले आफ्नो भनाइ राख्न रोष्टम भने पाएनन् ।

एमालेका सांसदहरुको नाराबाजी जारी रहेकाले उनले आफ्नो स्थानबाटै धारणा राखेका थिए । त्यसपछि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले छलफलमा भाग लिएकोमा धन्यावाद दिए । त्यसपछि सो प्रस्तावलाई सभामुखले निर्णयका लागि प्रस्तुत गरे ।

ध्वनी मतले सो प्रस्ताव पारित भएपछि बैठक अर्को कार्यसूचीमा प्रवेश गर्यो । दुईजना पूर्व सांसदहरु रुक्म शमशेर राणा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारितपछि मंगलबारको बैठक सकिएको छ । अर्को बैठक असोज ४ गते बस्ने छ ।