बझाङमा राष्ट्रिय जनगणनाको तयारी तीव्र

बझाङमा राष्ट्रिय जनगणनाको तयारी तीव्र

बझाङ । बझाङमा जिल्ला जनगणना कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ । स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने १२ वटा पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन्।

कार्यालयका प्रमुख दिपेन्द्रसिंह धामीका अनुसार यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्नेछन्। यसका लागि जयपृथ्वी नगरपालिकामा १०, बुङगल ११,  मष्टा ५, तलकोट ५, साइपाल ३,  थलारा ९, सुर्मा ३, केदारस्युँ ७, वित्थडचिर ५, खप्तडछान्ना ६, छविसपाथिभेरा ५ र दुर्गाथली गाउँपालिकामा ५ जना सुपरीवेक्षक खटिने छन्। 

सुपरीवेक्षकले सूचीकरणको समयमा स्थानीय तहका वडामा सामुदायिक प्रश्नावली भर्ने काम भने मूल जनगणनाको समयमा गरिने भएको छ। आगामी असोज १० गते जिल्लामा जनगणनका लागि करिब २६६ गणकको नतिजा सार्वजनिक हुने छ। गणकको नियुक्तिपछि  एक सुपरीवेक्षकले चार गणकलाई परिचालन गरी गणना गर्नेछन्। गणकका लागि आगामी कात्तिक १३ देखि १७ गतेसम्म ५ दिने तालिम दिइने भएको छ।

गणकले कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणना गर्ने उहाँले जानकारी दिए। जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा रहेको जनगणना समन्वय समिति गठन गरी काम अघि बढाइएको हो।

गणकले गणना गरी ल्याएको तथ्याङ्कका आधारमा कार्यालयले मङ्सिर मसान्तसम्ममा काम सम्पन्न गर्ने छ। विसं २०६८ को जनगणना अनुसार बझाङको जनसङ्ख्या करिब एक लाख ९४ हजार रहेको छ।