दशैंको टिकट 'बुकिङ' खुलाउने तयारी, शुक्रबारसम्म टुङ्गो लाग्ने

दशैंको टिकट 'बुकिङ' खुलाउने तयारी, शुक्रबारसम्म टुङ्गो लाग्ने

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन तयारी शुरु गरेको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले यसबारे यातायात व्यवसायहरुसँग छलफल भइरहेको बताउनुभयो । उहाँले दुई–तीन दिनमा दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने मितिको टुङ्गो लगाउने जानकारी दिनुभयो ।

दशैंमा उत्पयका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको सूचना अधिकारी भुसालले बताउनुभयो । त्यस्तै अब एक–दुई दिनमा दोस्रो चरणको हुने उहाँले बताउनुभयो ।

‘दोस्रो चरणको छलफलमा यातायात व्यवसायीहरुले तयारी गरेर आउनुहुन्छ र टिकट बुकिङबारे निर्णय गर्छौं,’ उहाँले भन्नुभयो,‘तर, यति गतेबाटै बुकिङ खुल्ला गर्ने भन्ने निर्णय भएको छैन । हामी यही शुक्रबारसम्म बुकिङ शुरु हुने मिति टुङ्गो लगाउछौं ।’

दशैंको मौका छोपी सार्वजनिक सवारीले बढी भाडा लिने गरेको छ । त्यसलाई रोक्न र सहजसँग यात्रुलाई घर जाने वातावरण बनाउन विभागले व्यवसायीसँग समन्वय गरेर अग्रिम टिकट बुकिङ खुलाउने गरिएको छ ।