भेरी अस्पतालमा उपत्यकका बाहिरकै पहिलो पटक ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया

भेरी अस्पतालमा उपत्यकका  बाहिरकै पहिलो पटक  ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया

काठमाडौं बाहिर भेरी अस्पतालका चिकित्सकले पहिलो पटक ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया गरेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल शल्यक्रिया गरेको भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले बताउनुभयो ।

यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौँका चिकित्सकले मात्र गर्ने गरेकोमा यस पटक नेपालगञ्जमा पनि सफलतापुर्वक गरिएको प्रमुख डा। थापाले बताउनुभयो । उहाँका अनुसार अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा। तिर्थेन्द्र खडकाको टोलीले सो शल्यक्रिया गरेको थियो । उहाँसहित चार जनाको टोलीले शल्यक्रिया गरेको हो । एसीएल, पीसीएल र एलसीएल नशाको सफल शल्यक्रिया भएको हो ।

दुई महिना अघि प्रमिलाको बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो । पहाडी भेगको बाटोमा हिड्दा महिलाको घुँडामा रहेको तीन वटा नशामा असर परेको थियो । हिड्दा–हिड्दै खुट्टा बटारिने समस्याले उहाँलाई सताएको थियो । लिगामेन्टमा धेरै असर पर्दा हिँडन अप्ठयारो हुने गरेको शल्यक्रियामा सहभागी डा। खड्काले बताउनुभयो ।

उहाँले थप्नुभयो–‘मल्टीलिगामेन्टको शल्यक्रिया भएपछि उहाँ सहजै हिंडडुल गर्न सक्नु हुन्छ, शल्यक्रिया नगरेको भए उहाँलाई बारम्बार खुट्टा दुख्ने र घुँडा पनि काट्नुपर्ने अवस्था आउन सक्थ्यो ।’ दुई वर्षमा लिगामेन्टको मात्र सय भन्दा बढी बिरामीको शल्यक्रिया गरिसकेको जनाउँदै डा। खड्काले तर मल्टीलिगामेन्टको शल्यक्रिया पहिलो पटक गरिएको बताउनुभयो ।

प्रमिला थापाको शल्यक्रिया गर्दा अस्पतालमा १० हजार रुपियाँ मात्र खर्च भएको डा। खडकाले बताउनुभयो । मल्टीलिगामेन्टको शल्यक्रिया शुल्क अस्पतालले २० हजार रुपैयाँ लिने गरेको छ । विरामीको आर्थिक अवस्थालाई ध्यानमा राखेर आधा शुल्क छुट गरिएको उहाँले बताउनुभयो ।