एमालेको अवरोधले कार्यसूचीमै प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित

एमालेको अवरोधले कार्यसूचीमै प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर लगातार सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

एमालेकी सांसद भगवती न्यौपानले आफूहरुको अवरोध जारी रहने बताएपछि अध्यक्ष गणेश तिम्सिनाले कार्ययूसीमा रहेका दुईवटा बुँदा हटाएर शोक प्रस्तावमात्र पेश गरेका थिए । बुधबार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची थियो ।

दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो  ।

यी दुबै कार्यसूची हटाएर अध्यक्ष तिम्सिनाले शोक प्रस्तावमात्र अगाडि बढाएका थिए । पूर्व सांसद मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भएपछि बैठक स्थगित गरियो ।