विदेश पठाउने भन्दै ठगी गर्ने अछामको रामारोशन गाउँपालिका अध्यक्ष पक्राउ

विदेश पठाउने भन्दै ठगी गर्ने अछामको रामारोशन गाउँपालिका अध्यक्ष पक्राउ

 

काठमाडौँ – विदेश पठाइदिने भन्दै गठी गरेको आरोपमा अछामका एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । विदेश पठाउने भन्दै पैसा लगेर ठगी गरेको आरोपमा रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्करलाई प्रहरीले पक्रेको हो ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीले साउदलाई उनकै कोठाबाट सोमबार बेलुका पक्राउ गरेको हो । साउदले मकाउ पठाइदिने भन्दै तीन वर्ष अघि चारजना युवाबाट चारलाख रुपैयाँ लिएको र अहिलेसम्म विदेश पनि नपठाएको तथा पैसा पनि फिर्ता नदिएको भन्दै उनी विरुद्ध जिल्ला प्रशासन काठ्माडौँमा उजुरी परेको थियो ।

पीडित पूर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्रबहादुर चन्द, विश्नु क्षेत्रीबाट एक एक लाख रुपैयाँ तथा पासपोर्ट लगेका छन् । पटक पटकको प्रयास पछि साउदले ३ चरणमा गरी एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेको प्रहरीमा उजुरी दिएको खड्काले बताए ।

साउदले योसहित विभिन्न प्रलोभन देखाइ आफूबाट थप रकमसमेत लगेको सुनाए । महानगरीय प्रहरीले भने जिल्ला प्रसासनबाट पक्राउ गरी दुवै पक्षलाई छलफलका लागि भोलाउनु र सहमति नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको जानकारी दिएको छ । साउदले तत्कालीन नेकपा माओवादीबाट अध्यक्षमा जितेका हुन् ।