साइकल यात्रीको मृत्युपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

साइकल यात्रीको मृत्युपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत अवरुद्ध पारिएको कञ्चनपुर सडक खण्ड खुलेको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको थियो।

स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। अवरुद्ध पार्ने पक्षसँग छलफल गरेर सहमति गर्ने भएपछि बन्द गरिएको पूर्वपश्चिम राजमार्ग सुचारु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले मृतकका आफन्त र रेडक्रसकर्मीबीच छलफल जारी रहेको बताउदै राजमार्ग सुचारु भएको जानकारी दिए ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर –५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।