'गेटा मेडिकल कलेज राजनीतिक इच्छा शक्ति र विज्ञको विज्ञता अनुसार विश्वविद्यालय बन्छ' : एमाले नेता भट्ट

'गेटा मेडिकल कलेज राजनीतिक इच्छा शक्ति र विज्ञको विज्ञता अनुसार विश्वविद्यालय बन्छ' : एमाले नेता भट्ट

धनगढी । नेकपा एमालेका नेता तथा स्थायी कमिटी सदस्य लेखराज भट्टले  गेटा मेडिकल कलेज अहिलेको समय सुहाउँदो, आवश्यकता अनुसारको विश्वविद्यालय हुने  बताउनुभएको छ । 

बुधवार कैलाली उद्योग वाणिज्य सङ्घमा आयोजित सर्वपक्षीय छलफलमा नेता भट्टले गेटा मेडिकल कलेजको मोडलबारे बोल्दै अहिलेको आवश्यकता अनुसारको विश्वविद्यालय हुने बताउनुभएको हो ।

गेटमा भवनहरू तयार भएको बताउँदै परम्परागत मोडल बाट अब चल्छ कि चल्दैन, दुनियाँ त्यसको समेत ख्याल गर्दै अहिलेको आवश्यकता अनुसारको विश्वविद्यालय निर्माण गर्नुपर्ने नेता भट्टको भनाई थियो ।

उहाँले भन्नु भयो, 'गेटामा भवनहरू निर्माण भएका छन् । त्यहाँ प्रतिष्ठान, विश्वविद्यालय, मेडिकल कलेज के बनाउने ? अथवा त्यसको मोडेल कस्तो हुने ? परम्परागत मोडल बाट अब चल्छ कि चल्दैन दुनियाँ र अहिलेको हाम्रो आवश्यकता अनुसारको युनिभर्सिटीको मोडल के हुने त्यो त अब राजनीतिक इच्छा शक्ति प्लस विज्ञको विज्ञता ईजकल्टु विश्वविद्यालय हुन्छ । जस्तो लाग्छ मलाई ।'  

त्यस्तै, नेता भट्टले अहिले नेपालमा पुरानो मोडलबाट चलाइएका सबै प्रतिष्ठानले राम्रो नतिजा नदिएको बताउनु भयो । 'अहिले नेपालमा सञ्चालनमा रहेका प्रतिष्ठानहरू परम्परागत मोडलबाट चलाइका छन् । तिनले राम्रो नतिजा दिएका छैनन् । तीमध्ये केहीले मात्रै राम्रो नतिजा दिई रहेका छन् ।' उहाँले भन्नुभयो । 

साथै, नेता भट्टले सुक्खा बन्दरगाह र गेटा मेडिकल कलेज समृद्ध सुदूरपश्चिमको आधार रहेको समेत बताउनु भएको छ ।  उहाँले विकास क्रममा पछि पारिएको सुदूरपश्चिम प्रदेशको समृद्धिमा यी दुई परियोजनाले निकै ठुलो भूमिका खेल्ने बताउनु भयो । ‘राज्यले धेरै सुदूरपश्चिमलाई टाढाकै रूपमा सोचिरहेको थियो । हामीले ठुलो प्रयास पछि दुई सुक्खा बन्दरगाह र मेडिकल कलेज पाएका छौँ,’ उहाँले भन्नुभयो  ‘यदि समयमै दुवै परियोजना सम्पन्न भए प्रदेश मात्रै होइन मुलुक नै समृद्धिको बाटोमा हिँड्छ ।’

अहिलेसम्म सुख्खा बन्दरगाहको गुरु योजना र सम्भाव्यता अध्ययन सम्पन्न भएर वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको छ । सुक्खा बन्दरगाह दुई चरणमा निर्माण गरिने जनाइएको छ । पहिलो चरणमा रेलबाहेक सात अर्ब र रेलसहित १३ अरब रकम लाग्ने प्रारम्भिक अनुमान छ ।

निर्माण कार्य सुरु भएको दुई वर्षमा भौतिक संरचना पूरा हुने गरी काम भइरहेको भट्टले बताए । विकास निमार्णको विषयमा सुदूरपश्चिमका नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिएकोसमेत उनको भनाई छ ।

‘प्रधानमन्त्री, म, हाम्रै पार्टीका उपाध्यक्ष भीम रावल मात्रै होइन राप्रपाका लोकेन्द्र बहादुर चन्दको पनि यहाँको विकासको सवालमा एक मत छौँ,’ उहाँले भन्नुभयो  ‘त्यसैले त पछिल्लो समयमा प्रदेशमा पनि विकासले गति लिइरहेको  छ ।’

त्यस्तै, कार्यक्रममा सहभागीहरूले विकास गर्ने विषयमा राजनीति मतभेद नराखेर अघि बढ्नु पर्ने बताएका थिए । उनीहरूले सुदूरपश्चिम प्रदेशका नागरिकहरू गुणस्तरीय उपचार नपाएर पिल्सिरहेको अवस्थामा मेडिकल कलेजको निर्माण पनि गुणस्तरीय स्वास्थ्य सँगै घरमै चिकित्सा शिक्षा पाउने बताएका थिए ।