ढिलासुस्ती र सर्त विपरीत काम हुँदा कतारले नेपालबाट प्रहरी भर्ना लिन मानेन

ढिलासुस्ती र सर्त विपरीत काम हुँदा कतारले नेपालबाट प्रहरी भर्ना लिन मानेन

कतारले नेपालबाट लिने भनेको कतार प्रहरीको माग रद्द गरेको छ । अहिलेलाई कतार प्रहरीमा नेपाली भर्ना नगर्ने कतारले प्रष्ट पारेको छ । कतारले अघिल्लो वर्ष नै नेपालबाट प्रहरीको लागि माग भइ आएकोमा नेपाल सरकारले तदारुकता नदेखाउँदा त्यो माग अन्तैबाट पूर्ति गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयबाट नेपालको अल तकेत ओभरसिज कम्पनीमार्फत कतार प्रहरीको लागि दुई सय जना भर्ना लिने भनि दूतावासमा मागपत्र प्रमाणीकरणको लागि पेस गरेको थियो । दूतावासका अनुसार गएको २९ अगष्टमा त्यो मागपत्र प्रमाणीकरण गरि कतारको सम्बन्धित मन्त्रालयमा पठाइएको थियो । तर सेप्टेम्बर १४ मा कतारको आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेको दूतावासले जनाएको छ ।

ढिलासुस्ती र सर्तविपरीत भर्ना थाल्दा माग रद्द

कतारले अघिल्लो वर्षको मंसिरबाटै नेपालीलाई कतारी प्रहरीमा भर्ना लिने भनेको थियो । तर नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रिया अगाडि बढेको थिएन । 

कतारमा रहेको नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणको लागि नेपालको श्रम मन्त्रालयमा पठाए पनि यहाँको आन्तरिक ढिलासुस्तीका कारण मागपत्र प्रमाणीकरण हुन सकेन । तर अल तकेत ओभरसिजले भने मागपत्र पमाणीकरण नभइ गएको मंसिरमा अन्तर्वार्ता लिएको थियो । जसको लागि कतारबाटै अन्तर्वार्ता लिने टोलीसमेत आएको थियो । 

मागपत्र प्रमाणीकरण नभएरै अन्तार्वार्ता लिएको भनेर वैदेशिक रोजगार विभागले पनि हस्तक्षेप गरेको थियो । यस्तै कतार सरकारले कतार प्रहरीको छनौटको लागि कुनै शुल्क नलिने भन्ने सर्त राखेको थियो । सर्त विपरीत तकेत ओभरसिजले ठूलो रकम असुल गरेको थियो । यो विषय सञ्चारमाध्यममा आएपछि कतार सरकार पनि सतर्क बनेको थियो ।

ओभरसिजले प्रतिव्यक्ति ७ देखि १० लाख रुपैयाँसम्म रकम उठाएको बाहिर आएको थियो । यसरी आफ्नो सर्तको पनि पालना नगरेको र ढिलासुस्ती गरेका कारण कतार सरकारले प्रहरी भर्नाबाट हात झिकेको कतारमा रहेको नेपाली दूतावासको भनाइ छ ।

अब कतार सरकारले प्रहरी भर्ना नलिने भएपछि कतार प्रहरीमा जान तयार रहेकाहरु आफ्नो त्यति रकम के हुने भन्नेबारे चिन्तित छन् । कतार जान म्यानपावरलाई बुझाएको रकम सम्बन्धित व्यक्तिले पाउनुपर्ने दूतावासको भनाइ छ ।