पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट केही व्यक्ति अलग्गिए पनि एमाले कमजोर नभएको दाबी गर्नुभएको छ । 

नेकपा एमाले काठमाडौँले आज राजधानीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पार्टीमा रहँदा सधैँ गुट बन्दी लाई प्रश्रय दिएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह पनि गर्नुभयो । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले नेकपा एमाले आफ्नो उद्देश्यमा अडिग रहेको र यसले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सरकारमा रहँदा वा नरहँदा पनि जीवन्त राख्ने बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुक बजेट विहीनताको अवस्थामा पुगेको उल्लेख गर्दै यसमा एमालेलाई दोष देखाउनु गलत भएको बताउनुभयो । अध्यक्ष ओलीले  संसदमा अवरोधकै बीच बजेट पेश गर्न मिल्ने तर पारित गर्न किन गर्न नमिल्ने भन्दै प्रतिप्रश्न गर्नुभयो ।