गोदावरीको तेघरीमा राजधानी निर्माण गर्न केपी ओली नै बाधक बने : दीर्घ सोडारी

गोदावरीको तेघरीमा राजधानी निर्माण गर्न केपी ओली नै बाधक बने : दीर्घ सोडारी

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गोदावरीमा राजधानी बनाउन जग्गा प्राप्तिमा पूर्वप्रधान मन्त्री केपी शर्मा ओली बाधक बनेको बताएका छन् ।

बिहीबार अत्तरियामा पार्टीको गोदावरी नगर कमिटी भेलालाई सम्बोधन गर्दै सोडारीले आफूले गोदावरीमा राजधानी बनाउन प्रस्ताव गरेर प्रदेश सभा बाट पास गरे पनि ओलीले सो निर्णय कार्यान्वयन गर्न नदिएको बताए । सोडारीले भने‘राजधानी बनाउन मेरै नेतृत्वमा धेरै मेहनत गरियो । तत्कालीन प्रधानमन्त्री ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, जग्गा प्राप्तिको लागि पहल गरियो ।

अहिले सम्म जग्गा उपलब्ध गराउन दिएनन् । अहिले प्रदेश सभा धनगढीमै चलाउन बाध्य भएका छौँ । ओलीले जति नै षडयन्त्र गरे पनि राजधानी गोदावरी बनाएरै छाड्ने सोडारीले उद्घोष गरे ।

यस्तै सोडारीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिमले पहिलो नगर कमिटी भेला कैलालीको गोदावरी बाट सुरुवात भएको बताए । प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिका बाट समाजबबादि यात्रा कमिटीगत रूपमा सुरु गरिएको औँल्याए । सोडारीले कैलाली जिल्लालाई पार्टी पहिलो पार्टी बनाउने दाबी गरे ।

यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश कमिटी सदस्य खडक बम, चेत बहादुर रोकाया, पुराना कम्युनिस्ट नेता कुमार निरौला, मुक्ति समाज कैलाली चक्र विक, अनेमा सङ्घ कैलाली अध्यक्ष गीता सोडारी, जिल्ला सदस्य जिल्ला सदस्य भीम बोगटी, खम्म बुढा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले स्वागत गरेको कार्यक्रमको सञ्चालन धन बहादुर खड्काले गरेका थिए ।