यो साता ३८ अर्बभन्दा बढीको शेयर कारोबारः नेप्से परिसूचक ६३.५८ अंकले घट्यो

यो साता ३८ अर्बभन्दा बढीको शेयर कारोबारः नेप्से परिसूचक ६३.५८ अंकले घट्यो

यो साताको कारोबारमा नेपालको शेयर बजार ६३ दशमलव ५८ अंक घटेको छ । गत साता २ हजार ८७५ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८१२ दशमलव ३९ विन्दुमा झरेको हो । 

साताको पाँच ओटा कारोबार दिनमा तीन दिन बजार घटेको छ भने एक दिन स्थिर रही एक दिन बढेको छ । साताको पहिलो दिन ७१ दशमलव ४३ अंकले बढेको बजार दोस्रो दिन स्थिर रहेको थियो । तेस्रो कारोबार दिन १८ दशमलव ५४ अंक, चौथो दिन ४० दशमलव २६ अंक र पाँचौ दिन ७६ दशमलव ६५ अंकले बजार घटेको हो । 

मौद्रिक नीतिमा व्यवस्था भएको मार्जिन कर्जाको सीमा र उक्त सीमा लागू गर्ने अवधिका कारण प्रभावित बन्दै आएको बजारलाई पछिल्लो समय बैंक ब्याजदर वृद्धिले थप प्रभावित बनाएको जानकारहरुको भनाइ छ । बैंकमा तरलता अभाव भएसँगै असोजदेखि नै लागू हुने गरी ब्याजदर बढेर आएको छ । 

बैंक ब्याजदर र शेयर बजारसँगको सम्बन्ध नकारात्मक हुने भएकाले केहि समय ब्याजदरकै कारण बजारमा लगानी घट्ने अनुमान जानकारहरुले लगाएका छन् । सरकारले खर्च नगर्दा बैंकमा तरलता अभाव सिर्जना भएकाले ब्याजदर बढेको भन्दै सरकारी खर्च शुरु भएसँगै ब्याजदरमा कमी आउने बैंकरहरुको भनाइ छ । 

कोभिडको महामारी शुरुभएदेखि बैंकमा तरलता अभाव नभएको र अहिले अवस्था सामान्य भएसँगै अन्य व्यवसायिक क्षेत्रहरु पनि सञ्चालनमा आउँदा तरलता घटेको जानकारी समेत बैंकरहरुले दिएका छन् । नेप्से परिसूचक तीन दिन लगातार घट्दा कुल बजार पूँजीकरण पनि रू। ८९ अर्ब १९ करोड १० लाख ९७ हजार कम भएको छ । 

गत साता रू ४० खर्ब २४ अर्ब ९३ करोड ३० लाख ८६ हजार रहेको कुल बजार पूँजीकरण यो साता रू ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजारमा झरेको हो ।

ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो साता ९ दशमलव ५१ अंकले घटेको छ । गत साता ५३५ दशमलव २९ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ७८ विन्दुमा झरेको हो । गत साताभन्दा यो साता कारोबार रकम र कित्ता पनि घटेको छ । 

गत साता रू ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको ८ करोड ६७ लाख ८ हजार ८ कित्ता शेयर कारोबार भएकोमा यो साता रू ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता रू ३ अर्ब ९४ करोड १९ लाख ३६ हजार बराबरको १ करोड ६२ लाख ६० हजार २९१ कित्ता कम शेयर कारोबार भएको हो ।