संविधान दिवसका अवसर पारेर बझाङ कारागारमा रहेका ४ जनालाई कैदीको सजाय मिनाहा गरिएको छ । बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी ४ जनालाई सजाय मिनाहा भएको जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले जानकारी दिए।
सजाय मिनाहा हुनेमा बहुविवाहको मुद्दा लागेका केदारस्युँ गाउँपालिका – १ का शिवराज भण्डारी २०७७ साल कार्तिक २७ गते देखी जिल्ला कारागारमा कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले भण्डारीलाई १ बर्ष कैद सजाय सुनाएको थियो। भण्डारीले १० महिना ५ दिन जिल्ला कारागार बझाङमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ।
यस्तै मष्टा गाउँपालिका – ३ घर भएका रामचन्द्र खड्का पनि कर्तव्य ज्यान मुदामा २०७७ साउन ४ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। खड्कालाई जिल्ला अदालत बझाङ बाट २ बर्ष कैद सजाय तोकेकोमा १ वर्ष १ महिना १० दिन जिल्ला कारागार बझाङमा रहेका हुन्। बाँकी सजाय माफी गरिएको छ।
यस्तै कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका – ५ का चक्र जप्रेल २०७० असोज २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। उनलाई सर्बोच्च अदालतले १५ बर्ष कैद सजाय तोकेको थियो। सबै गरी जप्रेलले ७ वर्ष ११ महिना ३ दिन जिल्ला कारागारमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ।
यसैगरी बहुविवाहकै मुदा लागेका जयपृथ्वी नगरपालिका – ३ का राजेन्द्र खड्का २०७७ भदौ ९ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले खड्कालाई २ वर्ष कैद सजाय सुनाएको थियो।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसला लगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो ।