धारावाहिक नाटक ‘रोपेगुना फल’ को आजदेखि दोस्रो सिजन प्रसारण

धारावाहिक नाटक ‘रोपेगुना फल’ को आजदेखि दोस्रो सिजन प्रसारण

धारावाहिक नाटक ‘रोपेगुना फल’को दोस्रो सिजन प्रसारण आजदेखि सुरु भएको छ । एन्टेना फाउन्डेशन नेपालले तयार पारेको नाटक धनगढीमा रहेको ‘रेडियो धनगढी’ सँगै देशभरका विभिन्न रेडियो स्टेसनबाट एकसाथ प्रसारण हुन थालेको हो । अभिभावक शिक्षा, बालविवाह र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा आधारित नाटक ‘रोपेगुना फल’को अवधि १५ मिनेटको रहेको छ ।

नाटक हाम्रो पात्रो मोबाइल एप, सामाजिक सञ्जाल फेसबुक, युट्युब र एन्टेना फाउण्डेशन नेपालको वेबसाइटमासमेत सुन्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले ३२१०० मा फोन गरी जुनसुकै बेला सुन्न सक्नेछन् ।

धारावाहिक रेडियो नाटक रोपेगुना फलमा अभिभावकले आफ्ना बालबालिकाको शारीरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमता अनुसार सिकाइ, उचित स्याहार सुसार गर्ने ज्ञान, जीवन उपयोगी सीप र दक्षता केन्द्रित समग्र विकासका विषयवस्तु समेटिएको छ ।

प्रारम्भिक बालविकासमा बुबाको भूमिका, गर्भावस्थामा आमा र शिशुको स्याहार, जन्मेपछि शिशु र आमाको हेरचाह, सुनौला हजार दिन, बालस्वास्थ्य, पोषण र सरसफाइ, बाल संरक्षण र स्याहार, प्रारम्भिक सिकाइका अन्तरवस्तु, किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवम् बालविवाहको विषयमा रहेर रेडियो नाटक तयार पारिएको छ ।