१३ जिल्लामा कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन अन्योल

१३ जिल्लामा कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन अन्योल

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्गो नलाग्दा १३ जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । विवाद रहेका जिल्लामा कार्यदलले निरन्तर छलफल गरिरहेको र एकरदुई दिनमै टुङ्गोमा पुग्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

आज विभिन्न ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार काठमाण्डौ, काभ्रे, मोरङ, बर्दिया, सिन्धुपाल्चोक, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुन लागेको हो । प्रदेश-२ का आठ जिल्ला, सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा विवाद छ ।

तीमध्ये धनुषा, कैलाली र डोल्पामा विवाद समाधान भइसकेको र अन्तिम टुङ्गोपछि निर्वाचन समितिलाई जानकारी गराउने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विवाद समाधान भएको भनिए पनि निर्वाचन समितिलाई विवरण उपलब्ध गराइएको छैन ।

यसअघि भदौ १८, २२ र २५ मा गरी ५७ जिल्लामा वडा अधिवेशन भइसकेको छ । वडा अधिवेशनकै कारण समग्र महाधिवेशन कार्यतालिका प्रभावित नहुने संयोजक यादवले बताउनुभयो । कांग्रेसले असोज ९ मा गाउँ नगर अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

कांग्रेसमा लामो समयदेखि क्रियाशील सदस्यता विवादले पटक-पटक महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएको छ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डौमा १४ औं महाधिवेशन गर्ने तय गरेको छ ।