बालबालिकाले अब दिनमा ४० मिनेटमात्रै टिकटक चलाउन पाउने

बालबालिकाले अब दिनमा ४० मिनेटमात्रै टिकटक चलाउन पाउने

सामाजिक सञ्जाल टिकटकले ‘युथ मोड’ सार्वजनिक गर्दै बालबालिकालाई टिकटकमा नियन्त्रण गर्न सुरु गरेको छ । यो फिचरमार्फत टिकटकको अभिभावक कम्पनी बाइटड्यान्सले बालबालिकालाई दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन नमिल्ने व्यवस्था गरेको हो ।

कम्पनीले शनिबारदेखि टिकटकको चिनियाँ संस्करणबाट यसको सुरुवात गरेको छ । योसँगै चीनमा १४ वर्षभन्दा कम उमेर भएका टिकटक प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन पाउने छैनन् ।

यस्ता प्रयोगकर्ताले रातको १० बजेदेखि विहान ६ बजेसम्म टिकटक हेर्नसमेत नपाउने बनाइएको छ । साथै कम्पनीले अभिभावकलाई आफ्ना बालबालिकाको टिकटक अकाउन्ट बनाउँदा आधिकारिक विवरण प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

त्यो भएको खण्डमा कम्पनी आफैंले प्रयोगकर्ताको उमेरका आधारमा उक्त फिचर ‘अन’ गरिदिने उल्लेख छ । यदि त्यो सम्भव नभएको खण्डमा अभिभावक आफैंले पनि यो फिचर एक्टिभेट गर्नसक्ने जनाइएको छ ।

यसका साथै कम्पनीले त्यस्ता बालबालिकालाई लक्षित गरेर विज्ञान, म्युजियमसँग सम्बन्धित कन्टेन्ट उपलब्ध गराउने भएको छ । पहिलो चरणमा चीनबाट सुरु भएको यो फिचर विस्तारै अन्य मुलुकमा पनि उपलब्ध गराउने कम्पनीको योजना छ ।