सीमा नाकामा सवारी आवागमन सहज गरिने

सीमा नाकामा सवारी आवागमन सहज गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमा नाकामा भारतीय सवारीसाधनको आवागमन छिटै सहज गरिने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साको प्रतिनिधिमण्डलसँग सोमबार सिंहदरबारमा भएको भेटमा सो कुरा बताउनुभएको हो ।

सङ्घका अध्यक्ष हरि पन्तको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भारतीय सवारीसाधनमा नेपाल तर्फबाट लगाएको रोक तत्काल खुला गर्नुपर्ने माग राखेको थियो ।

प्रधानमन्त्री देउवासमक्ष बुझाइएको ज्ञापनपत्रमा नेपाल–भारत सीमा नाकामा मालवाहक सवारीसाधन बाहेकका सवारीहरूको आवागमनमा रोक लगाइएका कारण भारतीय पर्यटकको आवागमन प्रभावित हुँदा होटल तथा पर्यटन व्यवसाय धराशयी भएको उल्लेख गरिएको छ ।

बारा र पर्सा क्षेत्रमा सानाठूला गरी करिब दुई सय होटल सञ्चालनमा छन् । प्रधानमन्त्री देउवासँगको भेटपछि अध्यक्ष पन्तले भन्नुभयो, “हामीले सीमा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीका सबै समस्या राख्यौँ । प्रधानमन्त्रीले हाम्रा मागप्रति सकारात्मक धारणा राख्नुभयो । उहाँले भारतीय सवारीसाधनलाई नेपालतर्फ खुलाउने काममा तत्कालै निर्णय लिने बताउनुभयो ।”