बैतडीमा नगरपालिका केन्द्रमै मोबाईल नेटवर्क नटिप्ने समस्या

बैतडीमा नगरपालिका केन्द्रमै मोबाईल नेटवर्क नटिप्ने समस्या

बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र रहेको हाटमा मोबाईल नेटवर्कले काम नगर्दा समस्या हुने गरेको बताइएको छ।

बैतडीको सबैभन्दा ठूलो पुर्चौडी नगरपालिकाको केन्द्र हाटलगायत अन्य वडाहरुमा पनि भनेको र चाहिएको बेला फोन नलाग्ने समस्या रहेको वडा नम्बर ७ भवनेका लोगराज जोशीले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोख्दै लेखेका छन्, नेपालको सहरी क्षेत्रलाई नगरपालिका घोषणा गरिएको छ। तर त्यस्तो नगरपालिका पनि छ जसको केन्द्रमासमेत फोन नलाग्ने समस्या छ।

नेपाल टेलिकमको टावर नगरपालिकाको वडा नम्बर ५ को दहताल डाडोमा भएपनि सोलारबाट चार्ज हुने भएकाले पानी परेको, मौसम बदली भएको दिन दिउँसोसमेत नेटवर्क नदेखाउने समस्या रहेको वडा नम्बर ७ की अर्की स्थानीय पार्वती अवस्थीले बताइन्।

३० हजार बढी जनसंख्या र साबिकका पुर्चौडी क्षेत्रका १० गाविस मिलाएर पुर्चौडी नगरपालिका घोषणा गरिएको भएपनि नगरपालिका हुनलाई आवश्यक मापदण्ड खानेपानी, विजुली, सडक सञ्जाल, स्वास्थ्य सेवा, संचार लगायतका सुविधाको अझै अभाव रहेको छ।