कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई ‘बर्ड सेन्चुरी’ बनाइने

कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई ‘बर्ड  सेन्चुरी’ बनाइने

चरा अवलोकनका लागि प्रसिद्ध कैलालीको घोडाघोडी सिमसार क्षेत्रलाई चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) बनाइने भएको छ । घोडाघोडी नगरपालिकाले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र बनाउने निर्णय गरेको हो । नगरपालिकाको १३ औं नगर सभाले सो निर्णयलाई सर्वसम्मतले पारित गरेको छ । चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने चरा संरक्षित क्षेत्र बुझिन्छ । नेपालमा अहिलेसम्म कहि पनि बर्ड सेन्चुरी बनेको छैन ।

चराको संरक्षण र पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले घोडाघोडी सिमसार क्षेत्रलाई ‘बर्ड सेन्चुरी’ बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले बताए । ‘बर्ड सेन्चुरी बनाउने विषय नगर सभाबाटै पारित भएको छ’, उनले भने । निर्णय अनुसार नगरपालिकाले चालु आर्थिक वर्षभित्रै घोडाघोडी सिमसारलाई चरा अभय आरण्य क्षेत्र घोषणा गर्ने जनाइएको छ ।

प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चरा पाईन्छन् । जसमध्ये कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् । कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा जलचरा ६४ प्रजातिका पाइने गरेको जनाइएको छ । बाँकी २९६ प्रजातिका चरा थलचर रहेका छन् ।

घोडाघोडी सिमसारलाई नगरपालिकाको पहिचान र गौरवको विषयको रुपमा चरा अभय आरण्य क्षेत्र घोषणा गरिने बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष डीआर चौधरीले बताए । उनका अनुसार विश्वमा दुर्लभ चरा प्रजातिकोसमेत बसोबास रहेको यो सिमसारलाई मुलुकमा विद्यमान वन सम्बन्धी ऐन, कानून अनुसार ‘बर्ड सेन्चुरी’ घोषणा गरिनेछ ।