न्यादी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

न्यादी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

न्यादी हाइड्रोपावरको आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको आइपीओ आज (बुधबार ९असोज ६ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा साँझ ५:३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । न्यादीले भदौ १ गतेदेखि १५ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १५ लाख र कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ जारी गरेको थियो । सोही सेयर आज बाँडफाँट गर्न लागिएएको हो । 
 
न्यादी हाइड्रोपावरको आइपीओमा ३८ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिएका हुन् । यसमा अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको थियो ।

साथै, न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन पनि व्यबस्था रहेको थियो । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।

उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ११ करोड ७० लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ३९ लाख २५ हजार १६८ रुपैयाँ रहेको छ ।