दार्चुलामा रिल पहिरोले सडक अवरुद्ध

दार्चुलामा रिल पहिरोले सडक अवरुद्ध

दार्चुला । दार्चुलाको मार्मा गाउॅपालिका–३ रिल पहिरो भन्ने ठाउँमा फेरि पहिरो खस्दा मार्मा क्षेत्रको सडक बेला–बेला अवरुद्ध हुँदै आएको छ । सोमबार रातिको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षौंदेखि उक्त ठाउँमा पहिरो खसिरहने भएकाले त्यस क्षेत्रको नामै रिल पहिरो छ । यो पहिरोका कारण बिटुले–पारीबगड सडक खण्ड बेलाबेला अवरुद्ध हुने गरेको छ ।

निरन्तर पहिरो खस्दा अल्लोपल्लो बस्तीमा आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । यो सडक वर्षात्मा मात्रै होईन दुईरतीन घण्टा लगातार पानी परे जुनसुकै समयमा अवरुद्ध हुन्छ । वर्षात्मा अधिकांश समय यो क्षेत्रमा आवतजावत नै ठप्प हुने स्थानीय बताउँछन् । रातिको वर्षाका कारण गएको पहिरोले सडक अवरुद्ध भएपछि यातायातका साधनहरूबीच सडकमै रोकिएका छन् ।

मार्माबाट गोकुलेश्वर आउने र गोकुलेश्वरबाट मार्मा जाने जीपहरू बीचसडकमै रोकिएको स्थानीय दिनेशबहादुर सिहले बताए । करिब ३५ वर्षदेखि वर्षा हुनेबित्तिकै निरन्तर पहिरो खस्ने गरेको छ । पहिरो आउन थालेको धेरै वर्ष भइसक्दासमेत रोकिएको छैन ।

वडाध्यक्ष पुष्करसिह बिष्टका अनुसार यहॉको सल्लेथुम बस्ती जोखिममा छ । अहिले स्थानीय रनविरसिहं बिष्टको घर पहिरोको उच्च जोखिममा परेको छ । २०४२ सालमा आएको भूकम्पले उक्त ठाउॅमा चिरा परेको र दरारमा पानी गएपछि पहिरो आउन सुरु भएको स्थानीयले बताएका छन् ।