कांग्रेसकाे महाधिवेशन कार्यतालिका फेरि परिवर्तन

कांग्रेसकाे महाधिवेशन कार्यतालिका फेरि परिवर्तन

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिक फेरि परिवर्तन गरेको छ । कांग्रेसको बुधबार बसेको पदाधिकारी बैठकमा विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने सहमति भएको हो ।

बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार यही असोज ९ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो ।

यसअघि कांग्रेसले ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । कांग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।

९ गते पछिका अधिवेशनहरुमा कांग्रेसका केही जिल्लामा क्रियाशील सदस्यताको बिवाद रहेकोमा त्यो पनि टुंगिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसको १४ औ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । त्यस अघि तल्ला तहका अधिवेशन सक्नुपर्नेछ ।