साहस उर्जाको आइपीओमा ७७ लाख ५४ हजार १५० कित्ताका लागि आवेदन परेको छ । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ५ लाख १५ हजार १७३ जना आवेदकबाट उक्त आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा १.२० गुणा बढी हो । साहस उर्जाले आज असोज ६ गते देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।
प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ । साहजको आइपीओ असोज १० गतेसम्म भर्न सकिन्छ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आइपीओ बिक्रीपछि यसको कुल सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।