नेपाल राष्ट्र बैङ्कले ३० अर्बको रिपो जारी गर्दै

नेपाल राष्ट्र बैङ्कले ३० अर्बको रिपो जारी गर्दै

नेपाल राष्ट्र बैङ्कले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैङ्क तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैङ्कले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । 

बैङ्किङ प्रणालीमा तरलताका समस्या देखिएमा बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । 

यसअघि नेपाल राष्ट्र बैङ्कले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो । 

तरलता अभावमा बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् ।

तरलता अभावमा बैङ्क तथा वित्तीय संस्थाले अन्तर बैङ्क सापटी पाउन छाडेको देखिन्छ । बैङ्क तथा वित्तीय संस्थाले नियमित रुपमा एसएलएफ सुविधा लिने गरेका छन् । 

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार बैङ्क तथा वित्तीय संस्थाले चालु आवमा बुधवारसम्म रु.चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । 

बैङ्क वित्तीय संस्थाले बुधवार मात्र १२ पटकमा रु २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ ।