नेकपा (एस)को कमिटी विस्तार, तत्कालीन कार्ययोजना २०७८ पारित

नेकपा (एस)को कमिटी विस्तार, तत्कालीन कार्ययोजना २०७८ पारित

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबारदेखि जारी बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

यसैगरी ७१ सदस्यीय पोलिट्ब्यूरो र ३५ सदस्यको स्थायी कमिटी गठन गरिएको प्रवक्ता समेत रहनुभएका खतिवडाले जानकारी दिनुभयो । सो दलको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, सात उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद शाह र जयन्ती राई चयन हुनुभएको उहाँले बताउनुभयो ।

महासचिवमा वेदुराम भुषाल, उपमहासचिवहरुमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल चयन हुनुभएको छ । सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन हुनुभएको सो दलले जनाएको छ ।

नेकपा (एस) को केन्द्रीय कमिटीमा सात उपाध्यक्ष भएपनि वडा तहसम्मको स्थानीय तहको कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था मिलाइएको खतिवडाले बताउनुभयो । सो दलले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरिएको र यसमा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना प्रतिनिधित्व हुनेगरी र केन्द्रीय आयोग विभाग र जनसंगठन विभागको आवश्यक प्रतिनिधित्व हुनेगरी सात सय एक सदस्य रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सो दलको तीनवटा आयोगमा अनुशासन आयोग, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने निर्णय गरेको छ । आयोगमा ३५ सदस्य रहने निर्णय गरेको छ । विषयगत विभागमा २५ सदस्य र केन्द्रीय सल्लाहकार एक सय ५१ सदस्य रहने व्यवस्था सो दलको बैठकले निर्णय गरेको छ ।

अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अहिलेको अवस्थामा राष्ट्रहित अनकुलमा नभएको निष्कर्ष निकाल्दै सो दलले एमसीसीलाई राष्ट्रहित अनुकूल बनाई राष्ट्रिय र राजनीतिक सहमतिबाट मात्रै अगाडि बढाउन सकिने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो ।

जनताको बहुदली जनवाद (जबज) को मूल्य र मान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो । समग्रमा वर्तमान अवस्थामा देशको कम्युनिष्ट आन्दोलनको सत्य, तथ्य अवस्था अध्ययन गरी वामपन्थी शक्तिको एकताको पक्षमा पनि बैठकमा छलफल भई निष्कर्ष निकालिएको खतिवडाले बताउनुभयो ।