धनगढीः अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गर्न दवावको आवश्यक्ता रहेको एक कार्यक्रममा सहभागीले बताएका छन्।
अन्तराष्ट्रिय न्याय दिवसको अवसरमा मंगलबार धनगढीमा आयोजित नागरिकको न्यायमा पहुँच र चुनौती विषयक अन्तर्क्रियामा सो कुरा बताएका हुन। कैलाली जिल्ला बार एसोसिएसन, अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) र एडजस नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको थियो।
कैलाली जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्यालले नेपाल सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गर्नु पर्ने तर्फ गरे। उनले (रोम) विधान अनुमोदन गराउन नागरिक समाज, संघ÷संस्थाको दबाब आवश्यक रहेको बताए।
जिल्ला बार एसोसिएसनका उपाध्यक्ष गंगाराम उपाध्यायले नेताहरूले अभियोग लाग्ने डरले रोम विधान अनुमोदन नगरेको तर्क गरे। उनले रोम विधान अनुमोदन नगर्नुमा सरकार नागरिकप्रति उत्तरदायि नभएको आरोप लगाए।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित भएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय न्याय दिवस मनाउने गरिन्छ ।