राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सनदबाट पारित भएको विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रमाणीकरण गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सनदबाट पारित भएको विनियोजन विधेयक २०७८ संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।  विनियोजन विधेयक २०७८ प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । 

यसअघि सरकारले ल्याएको बजेट पास नभएकाले गएको ३० गते रातिदेखि सरकार खर्च गर्न नपाउने अवस्थामा पुगेको थियो। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विरोध गरेपछि बजेट प्रभावित भएको थियो । 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।