हिमाली जिल्लामा कांग्रेसको जिल्ला महाधिवेशन दसैं अगाडि नै गर्ने

हिमाली जिल्लामा कांग्रेसको जिल्ला महाधिवेशन दसैं अगाडि नै गर्ने

नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । हिजो साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताउनुभएको हो ।

हिजो बैठक सुरु गरेर पार्टी सभापति शेरबहादुर देउवा हिड्नुभएको थियो । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको हो ।

क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २१ वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्लामा दसैं अगाडि नै अधिवेशन गर्ने भएको हो ।

तर डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन । ती जिल्ला बाँकी राखेर अन्य जिल्लाको दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमालीबाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ । अन्यत्र दशैंतिहारको बीचमा हुनेछ । महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ पछाडि गर्ने प्रस्ताव राख्नुभएको छ ।

यो भनेको मंसिरको पहिलो सातातिर हुनेछ । जबकी पूर्व निर्धारित कार्यतालिकाअनुसार मंसिर ९ मा केन्द्रीय महाधिवेशन सुरु हुनेछ । त्यसैले महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको हो । कांग्रेसले गत भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो ।

पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै गुज्रिसक्यो । केन्द्रीय महाधिवेशन गर्न नसकेपछि उसले १८ भदौमा वडा अधिवेशन सुरु गरेर त्यही जानकारी निर्वाचन आयोगलाई दिएको थियो ।