धनगढीका युवा नरेन्द्र साउँदलाई ज्यान मार्ने धम्की, कारबाहीको माग

धनगढीका युवा नरेन्द्र साउँदलाई ज्यान मार्ने धम्की, कारबाहीको माग

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा बस्दै आएका  युवा नरेन्द्र साउँदलाई धनगढीकै निखिल वडले ज्यान मार्ने धम्की दिएका छन् । उमहानगरपालिकाको वडा नम्बर ६ बस्ने वडले सामाजिक सञ्जालबाटै अश्लिल गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका हुन्। धनगढीका युवा साउँदले सामाजिक सञ्जाल फेसबुकमा धनगढी उपमहानगरपालिकाको अनियमितताबारे कमेण्ट गरेकै कारण वडले ज्यान मार्ने धम्की दिएको बताएका हुन्।

उपमहानगरपालिकाले साइकल खरिदमा पनि भ्रष्टाचार गरेको सम्बन्धि सरकारका पूर्वसचिव भीम उपाध्यायले स्टाटस लेखेपछि साउँदले सोही स्टाटस एक जना काँग्रेस नेताको फेसबुकमा कमेन्ट गरेका थिए। उक्त कमेन्टपछि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका छोरा निखिलले लगातार ज्यान मार्ने धम्की दिइरहेको साउँदले बताए ।

उनले आफ्नो ज्यानको सुरक्षाको लागि प्रहरीलाई खबर गर्दा पनि कुनै सुनुवाई नभएको बताए । “म आज मात्रै आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जिप्रका निवेदन दर्ता गर्नको लागि गएको थिए” साउँद भने ,तर प्रहरीले त्यो निवेदन दर्ता गर्न मानेन । प्रहरीले दुवैलाई बोलाउछौँ अनि सम्झाउला भनेको छ ।” 

यस्तै विवेकशील साझा युवा संगठन सुदूरपश्चिमले अनियमितताको विषयमा बोल्दा ज्यान मार्ने धम्की दिने निखिललाई कारबाही गर्न माग गरेको छ। ‘सार्वजनिक निकायमा आफ्नो बिचार बोकेको, परिवारको कुनै सदस्य जागिरे भएको वा सेवाकर्ता भएको आधारमा त्यो संस्था निजी भएको नसम्झिन र कसैले निकायको अनियमितताको बारेमा आलोचना गर्दा झम्टने, गाली गर्ने  र ज्यान मार्ने धम्की दिने प्रवृत्ति हटाउन हामी सबैमा आग्रह गर्दछौ,’ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले प्रहरीकहाँ ठाडो उजुरी लिएर आउनु पर्ने बताए । “साँउदले फेसबुकको स्क्रीन सट लिएर आउनु भएको थियो । उहाँले साईबरक्राईम मुद्धा दर्ता गर्न खोज्नुभएको हो जस्तो लाग्यो, तर यहाँबाट साईबरक्राईम मुद्धा दर्ता गर्न मिल्दैन ,काठमाडौँमै दर्ता हुन्छ । हाम्रो त फरवार्ड गर्नेमात्रै काम हो ।” उनले भने ।