दुई वर्षमै बिग्रिए सीसीटीभी क्यामेरा, चार महिना बित्दा पनि भएन मर्मत

दुई वर्षमै बिग्रिए सीसीटीभी क्यामेरा, चार महिना बित्दा पनि भएन मर्मत

दार्चुला । दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलंगामा दुई वर्ष पहिले जडान गरेका सीसीटिभी क्यामेरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी सदरमुकाम खलंगाका विभिन्न आठ स्थानमा सीसीटीभी क्यामेरा जडान गरेको थियो ।

२०७६ असार २२ गते महाकाली नगरपालिकाले खलंगा क्षेत्रमा अपराध नियन्त्रणमा सघाउ पुर्‍याउन भन्दै सीसीटिभी क्यामेरा जडान गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट पुलघाट भन्सार कार्यालयसम्मका मुख्य स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको थियो ।

जडान गरिएका सबै सीसीटीभी बिग्रिएर बन्द भएको चार महिना बितिसक्दा पनि मर्मत हुन सकेका छैनन् । 'चार महिनादेखि सीसीटीभी क्यामेरा चलेका छैनन्,'जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने,'मर्मतका लागि मान्छे नआउँदा ढिलाइ भएको छ, मर्मत गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि अहिलेसम्म नगरपालिकाले पनि मान्छे ल्याउन सकेको छैन ।'

सीसीटीभी क्यामेरा जडान गर्न भारतबाट प्राविधिक ल्याइएको थियो । मर्मतका लागि पनि उतैबाट ल्याउनुपर्ने भए पनि अहिलेसम्म मान्छे मगाउन नसक्दा सदरमुकाम खलंगामा अपराध नियन्त्रणमा प्रहरीलाई समस्या हुन थालेको छ । सीसीटीभी जडानपछि प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो ।

जडान गरिएको छोटो समयमै सीसीटीभी बिग्रिएपछि प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिमसमेत बढ्दै गएको सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक चन्दले बताए ।