१० बुँदे सहमति कार्यान्वयन केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाउन रावलको माग

१० बुँदे सहमति कार्यान्वयन केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाउन रावलको माग

एमाले उपाध्यक्ष भीम रावलले चालु केन्द्रीय कमिटीको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको विषय एजेन्डा बनाउन माग गरेका छन् । शुक्रबार भएको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले सुदूरपश्चिममा १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन (अपानी) कार्यान्वयन नभएको भन्दै कार्यान्वयनको विषयलाई एजेन्डा बनाउनु पर्ने माग गरेका थिए ।

‘बैठकमा रावलले अहिलेसम्मा १० बुँदे सहमति र अपानी सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन नभएको भन्दै कार्यान्वयनको विषय एजेन्डा बनाउन माग गर्नुभयोु’, एक केन्द्रीय सदस्यले भने, ‘एमाले र नेकपाकालमा पनि आफू सुदूरपश्चिमको इन्चार्ज रहेको भन्दै कार्यान्वयन भएको छैन । सबै काम ठप्प भएको छ ।’

रावलको सो भनाइलाई सांसद तथा केन्द्रीय सदस्य झपट रावल र भानुभक्त जोशीले साथ दिएका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको विषयमा छलफल गर्नका लागि बसेको कारणले सो विषयमा स्थायी कमिटीमा छलफल हुने बताए । रावलले एमालेभित्र देखिएको विवाद समाधानका लागि प्रस्ताव तयार पार्न गठन गरिएको कार्यदलमा माधवकुमार नेपाल समूहको तर्फबाट संयोजक थिए । त्यही कार्यदलमै साउन २७ गते एमालेभित्रको विवाद समाधान गर्नका लागि १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ को एमालेको संगठनात्मक संरचनामा फर्काउने सहमति थियो । एमाले र माओवादी केन्द्र एकीकरणपूर्व र नेकपा गठन भएपछि पनि रावल नै सुदूरपश्चिमको इन्चार्ज रहेका थिए । नेकपाभित्रको विवाद चर्किदै जाँदा अध्यक्ष ओली पक्षले रावललाई हटाएर लेखराज भट्टलाई इन्चार्ज तोकेको थियो ।

यसअघि ओलीले सुदूरपश्चिमका नेताहरुसँग अनौपचारिक बैठक राखेर रावललाई उपाध्यक्षको रुपमा केन्द्रमा सक्रिय हुन र भट्टलाई इन्चार्जमा कामय राख्न भनेका थिए । तर रावलले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।