मुगलान जाने नेपालीको नियति, सीमा पार गर्न नपाउँदै लुटिन थाल्छन् !

त्रिनगर भन्सार

समीर भट्ट    

मुगलान जाने नेपालीको नियति, सीमा पार गर्न नपाउँदै लुटिन थाल्छन् !
विदेशी न बाध्य नेपालीहरू सीमा पार गर्दै...

धनगढी । रोजगारीकै लागी अझ भनौँ भोको पेट पाल्नको लागी नेपाली नागरिक विशेष गरी सुदूरपश्चिम प्रदेशका ९ जिल्ला दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका नागरिकहरू कैलालीको त्रिनगर भन्सार गौरीफण्टा नाकाबाट भारत लगायत तेस्रो मुलुक जाने गर्दछन् । त्यही नाकाबाट केही कमाउने आसमा बिदेसिने नागरिकको त्यो भिडमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका नागरिकहरू समेत हुन्छन् ।  

तर पछिल्लो समय कोरोना कहर पछि बिदेसिन बाध्य ती नागरिकहरू नाका पार गर्न नपाउँदै ठगिन थालेका छन् । उनीहरू बिदेसिन बाध्य त छन् नै अझ त्यही माथि धनगढी देखी आ-आफ्नो गन्तव्य सम्म पुग्न सवारी धनिले मागे, तोके अनुसारको भाडा तिर्ने उनीहरूको नियति नै बने को छ । 

बिहानको समयमा गाडिहरूँ गन्तव्य तर्फ नजाने हुनाले दैनिक सयौँ देखी हजारौँको भिडमा बिदेसिने उनीहरू हरेक साँझ (४ बजे देखी ७ बजे सम्म) को पर्खाई मा हुन्छन् । धनगढी आसपासका बाहेक अन्य सबै ठाउँबाट भारत लगायतका तेस्रो मुलुक जाने नागरिकहरू त्यो पर्खाइको तितो अनुभव बटुल्न बाध्य हुन्छन् । 

स्वदेशमै स्वरोजगार र रोजगार हुने उनीहरू मा पनि इच्छा नहुने भने हैन तर थोरै आफ्नो अवस्था र परिस्थिति भने धरै सरकारको लम्पसार गतिविधिका कारण न उनीहरू स्वरोजगार हुन सक्छन् नत रोजगार नै हुन । उनीहरू विवश छन् बिदेसिन । 

पहिले नै नाका पार गर्न पर्खिनु पर्ने अनुभव बटुली सकेकाहरू आफ्नो घर नछोड्दै टिकेट को व्यवस्था गर्छन् । तर पहिलो पटक जानेहरू, सीमा नजिक र सिमामै पुगेर टिकेट लिनेहरू भने पर्खाइको तितो अनुभव बटुल्न विवश छन् । 

धेरै नागरिकलाई थाहा छैन । त्रिनगर भन्सार गौरीफण्टा नाकाबाट आफ्नो गन्तव्य सम्म पुग्न कति पैसा तिर्नु पर्ने हो । थाहा भएकाहरू पनि बस गन्तव्य सम्म पुग्ने अठोटले सवारिधनि ले बोले मागेको पैसा तिर्छन् । र पनि निर्धक्क भएर यात्रा गर्न पाउँदैनन् । 

उनीहरू आफूले सीमामा आउँदा जाँदा भोगेको दुःख कसैलाई सुनाउन, गुनासो गर्न, उजुरी गर्न पटक्कै चाहँदैनन् किन कि उनीहरू लाई बस आफ्नो भोको पेट, परिवार पाल्ने जिम्मेवारी र आफ्नो काम प्रतिको ईमान्दारीता मात्रै थाहा छ । र उनीहरू उजुरी गरे लफडामा पर्ने महसुस गर्छन् र पो कसै सँग आफूले भोगेको सीमा पार गर्दाको त्यो सास्ती सहेर बस्छन् । आखिर उनीहरूको मनमा आफूले सहनुपरेको समस्याबारे उजुरी गरे लफडा, झन्झटमा पर्ने मानसिकता कसले पालिदियो होला ? 

अहिलेको परिपेक्षमा नेपाल भारत चल्ने यातायात प्रा.लि तथा सवारी ओसार पोसार गर्ने सवारीहरू ले प्रति व्यक्ति त्रिनगर भन्सार गौरीफण्टा नाकाबाट दिल्ली, मुम्बई, पुना, नासिक, पञ्जाब, बैङलोरु, चेन्नैइ लगायतका ठाउँहरू जान, ९ सय देखी २ हजार २ सय भारतीय रुपैयाँ लिने गरेको बताए पनि नेपाली नागरिकहरू भने उल्लेखित ठाउँहरू जान २ हजार पाँच सय भारतीय रुपैयाँ देखी ५ हजार भारतीय रुपैयाँ तिरेर जान बाध्य हुन्छन् । त्यो पनि आफू यात्रा गर्दा बस्न पाउने सिट को अन्यौलताका बिच । 

डोटीका रुद्र नेपाली घरबाट मुम्बई जानको लागी त्रिनगर भन्सार नाका गौरीफण्टा नाका (भारतीय भूमिमा) पुगेका थिए । उनी सँगै थप ८ जना पनि मुम्बई जानको लागी धनगढी स्थित अछाम होटल परिसर भित्र रहेका टिकट काउन्टर बाट प्रति व्यक्ति २ हजार पाँच सय भारतीय रुपैयाँ का दरले टिकेट लिइसकेका रहेछन्, तर उनलाई थाह नै छैन कि बस कति बेला जान्छ कुन बसमा जाने समेत थाहा छैन । 

उनी भन्छन्,  “रोजगारीका लागी मुम्बई जान हिँडेको, मलाई भाडा दर कति तोकिएको को थाहा छैन टिकेट, कोरोनाको कारणले भाडामा तल माथि भएको हो कि के हो थाहा भएन ।”

रुद्र नेपाली सँगै रोजगारीका लागी भारतको मुम्बैइ हिँडेका अर्का यात्रुले आफूहरूबाट प्रति व्यक्ति २ हजार ५ सय भाडा लिएर टिकेट दिए पनि सीमा पार गरिसके पछि भने बमोजिमको व्यवस्था नगरेको गुनासो गरे । 

उनले भने, ‘भाडा लिएर टिकेट दियो तर सीमा पार गर्ने बित्तिकै गाडी  पाउँछ भनेको पाएनौ । हामीलाई गाई भैँसी लगेर जङ्गलमा छोडे जस्तै गरे । नेपाली ले नेपालीलाई ठग्छन् के भन्ने । उनीहरूले बुझ्ने कुरा हो । पाँच रुपैयाँ भए पन्ध्र भन्छन् के गर्ने । हामी भने अनुसारको सिट र गाडी भेट्टाएनौँ भने पैसा फिर्ता माग्छौँ ।’ 

उनले धनगढी बसपार्कबाट नगर बसमा नाका सम्म छोडेता पनि  यता पुगे पछि पलिया सम्म छोड्न बसको स्टाफ आउँछ भनेको थियो । तर भने अनुसार कोही नआएको बताए ।  

त्यस्तै, औषधी उपचार गर्न भारतको रत्नागीरी जानको लागी सीमा नाका पुगेका कैलालीको जोशीपुरका अमर परियार को भनाई पनि केही उस्तै । उनी भन्छन्, ‘धनगढी हुँदै टिकेट काटेको भाडा दर कति तोकिएको हो भन्ने मलाई थाहा भएन तर मैलै ३ हजार ५ सय तिरे ।’ 

त्यसै गरी, एक वर्ष, छ महिनामा नेपाल भारत ओहोर दोहोर गरिरहने धनगढीकी स्थानीय एक महिलाले सीमा नाकामा भारतीय र नेपाली प्रहरी ले परिचय पत्र हेर्ने गरेको भए पनि त्यस्तो दुर्व्यवहार भने नगरेको बताइन् । आफ्नो परिचय खुलाउन नचाहने उनी भारतको दिल्लीमा माइती भएकोले एक वर्ष ६ महिनाको अन्तरमा नेपाल भारत ओहोर दोहोर गरी रहन्छिन्  । 

उनी सिमानामा प्रहरी दाजु भाइहरूले हाम्रो सुरक्षाको लागी सक्दो सहयोग गर्ने गरेको भए पनि सिमाना विद्युतीय रिक्सा र (बस) व्यवसायीहरूले नाका ओहोर दोहोर गर्ने यात्रुबाट मन परि भाडा असुल्ने गरेको कारण महँगो भाडा तिर्न बाध्य भएको बताइन् । 

उनले भनिन्, ‘सिमाना त डकुमेन्ट मात्रै चेक गर्नुहुन्छ (नेपाली/भारतीय प्रहरी) त्यस्तो समस्या भोग्नु परेको छैन । तर भाडामा चाही दिल्ली सम्म जानकै लागी कहिले १ हजार पाँच सय भारतीय रुपैयाँ त कहिले २ हजार पाँच सय भारतीय रुपैयाँ तिर्नु परेको छ । भाडामा कुनै एकरूपता छैन । अहिले कोरोना/लकडाउनको बहाना पनि मिलेको छ ।’

उनले थप्दै भनिन्, ‘दशैको बेला, चाडबाडको बेला भारतबाट स्वदेश फर्किने यात्रुहरूबाट  त झन् २ देखी ३ हजार भारतीय रुपैयाँ सम्म पनि लिन्छन् । सायद प्राइभेट गाडी भएकोले होला ।’ 

प्राइभेट गाडी चलिरहेका हुन्छन् । उनीहरूको आफ्नै नीति नियम बनाएर मनपरी गर्छन् । यसमा सरकारले ध्यान दिएर निश्चित भाडा दर तोक्नु पर्ने उनको सुझाव छ । 

त्यस्तै, धनगढी स्थित क्याम्पस रोड बस्ने कविता सुनार को सीमा वार पार गर्दा ताको अनुभव भने यस्तो छ । उनी धनगढीमै पसल व्यवसाय गरेर बस्ने भएकोले कहिले कसो समान लिन भारतको पलिया बजार आउने जाने गर्छिन् । सिमामा समान लिएर आउँदा भारतीय प्रहरीले केही नगर्ने भए पनि नेपाली सुरक्षा निकायका अधिकारीहरूले भने समान चेक जाँच गर्ने र बढी समान लिए पैसा दिने गरेको सुनाइन् । तर अचम्मको कुरा के भने सिमामा बढी समान ल्याउँदा नियम सङ्गत भन्सार शुल्क लिनु त स्वाभाविक नै हो । यद्यपि नेपाली सुरक्षा निकायका अधिकारीहरूले आफूहरूबाट पैसा लिने र पैसा तिरे अनुरूपको कुनै रसिद, भौचर पनि केही नदिएको सुनारको आरोप रहेको छ । 

उनले भनिन्, ‘धनगढी मै पसल गरेर बस्ने भएकोले समान लिन सीमावर्ती बजार आउने जाने गरी रहन्छु । समान लिएर आउँदा भारतीय प्रहरीले केही गर्दैनन् तर नेपाली प्रहरीले भने समान चेक जाँच गर्ने र बढी समान लिएको भए पैसा लिन्छन् । तर त्यो राजस्व लिएको कोरलिएको के हो ? रसिद भने दिदैन् ।

हामीले सुनार सँग कुरा गर्दा उनी भारत बाट नेपाल फर्किरहेकी आफ्नी दिदी लाई लिन त्रिनगर भन्सार गौरीफण्टा नाका पुगेकी थिइन् । उनले अटो रिक्सा चालकहरूले ५० रुपैयाँ भाडा लाग्ने ठाउँमा १ सय बढी भाडा लिने गरेको र अझ नयाँ मान्छे देख्यो भने झन् बराबर दुरी मा ६ देखी ७ सय भाडा लिने पिरले आफै स्वयम लिन आएको बताइन् । 

साथै उनले आफू पहिलो पटक सीमा नाका पुग्दा ठगिएको अनुभव सुनाउँदै भनिन्, अटो रिक्सा तथा सवारी धनीले मन परि भाडा लिन्छन् । मैले पहिले पटक आउँदा अटो रिक्साले लगभग ५ कि.मि. को दुरीमा म बाट १ हजार ५ सय रुपै लिएको थियो  । उनले सुनाइन् ।

त्यसै गरी डोटीका राम अधिकारी पनि नेपाल भारत चल्ने सवारी धनीहरूले पहिले को भन्दा अहिले बेसी भाडा लिने गरेको गुनासो गरे । पहिले एक हजार पाँच सयमा जाने गर्दथे, अहिले त दुई हजार पाँच सय भारतीय रुपैयाँ लिई छोड्यो । भाडामा एकरूपता देखिएन । उनले भने । 

त्यस्तै, प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष समेत रहेका वीरेन्द्र सिंह विगत ७ वर्ष देखी त्रिनगर भन्सार गौरीफण्टा नाका र गड्डाचौकी सिमानाका बाट भारतमा ट्याक्सी चलाउँदै आइरहेका छन् । उनले नेपाली सीमा पार गरी भारत प्रवेश गरिसकेपछि हुने लुटपाट तथा हुने ठगीमा भने कमी आएको बताए । 

सिंहले, लोकल यात्रुहरू लाई पनि नेपालबाटै टिकेट काटेर पठाउने र यता भारतीय सवारीधनीहरु लाई हस्तान्तरण गर्ने प्रवृत्तिले पनि भाडा दर महँगो पर्ने कयौँ यात्रुले सिट नै नपाउने समस्या नेपालबाट भारत आउने हरेक यात्रुले दैनिक जसो भोग्नुपरेको बताए । 

उनले उदाहरण दिँदै भने, जस्तो नेपालबाट २ सय जनाको टिकेट पठायो यता पलियाबाट दिल्लीका लागी २ वटा बस मात्रै जाने छन् भने, एउटा गाडीमा त बढीमा ६५ सिट हुन्छन् । त्यस्तो अवस्थामा २ गाडीमा सिट सङ्ख्याका आधारमा त जम्मा १ सय ३० जना मात्रै अटाउने भए तर यहाँ ती २ सय यात्रुलाई २ वटै गाडीमा २ जनाको सिटमा ४ जना, ३ जनको सिटमा ५ जना बसालेर लग्ने गरेका छन् । त्यस्तो बेला यात्रुले निश्चय नै दुःख पाउँछ । 

उक्त समस्याको समाधानको निम्ति उनले नेपालबाट टिकेट काट्ने व्यवस्था बन्द गर्नु पर्ने बताए । त्यसो  गर्दा नेपालबाट भारतका विभिन्न सहरहरूमा जाने यात्रुहरू महँगो भाडाको मारबाट पनि जोगिने र आफूले चाहे अनुसारको सिट रोजेर सहजै यात्रा गर्न सक्ने सिंहको भनाई थियो । 

सिंहले सिमानाकामा बिदेसिने नागरिकका लागी भारत लगायत तेस्रो मुलुक जाँदा के-के कागजात चाहिन्छ ? कुन सवारी साधनहरूमा टिकेट कहाँ पाइन्छ ? के-के कुरामा ध्यान दिनु पर्छ भन्ने लगायतका सूचना दिने सहायता कक्ष निर्माण गरी सेवा प्रवाह गरे नेपाल भारत सीमा नाका बाट आवत जावत गर्ने नागरिकलाई ठगिन बाट जोगाउन सकिने हुँदा त्यसको व्यवस्थापन गर्न नेपाली प्रशासनलाई आग्रह समेत गरेका छन् । 

त्यस्तै, नेपाल भारत सीमा नाका गौरीफण्टा प्रहरी चौकीको कमाण्डमा खटिएका एक भारतीय प्रहरी अधिकारी ले पनि आफूहरू कहाँ कुनै सिकायत आए त्यसमा तुरुन्त पहल चाल्ने र दोषी उपर कारबाही पीडितलाई उद्धार राहत को व्यवस्था गर्दै आइरहेको र आफूहरूले सीमा नाकामा आवत जावत गर्ने नागरिकहरूलाई सहयोग गर्दै आइरहेको बताएका छन् ।

भारतीय प्रहरी अधिकारीले भने, (उनकै शब्दमा) 'हम से जो मदत हो सक्तिहै वह मदत हम करते है । जो लोग हमसे उमिद करते है । कोही सिकायत कर्ने आएगे तो तभि हम एक्सन ले सक्ते है । एक इन्सानियतके नाते भि हमारा फर्ज बन्ता है कि एक दुष्रेकी सहयोग करे वह हम कर रहे है ।' 

यता विगत लामो समय देखी धनगढी बाट भारतका विभिन्न सहरहरूमा यातायात सेवा दिदैं आइरहेको श्री केदार टुर एण्ड ट्राभल्सका सेयर सदस्य दिनेश खत्रीले आफूहरूले पहिले भन्दा केही बढी भाडा लिने गरेको स्वीकार गरेका छन् । उनले लकडाउन पहिले १४ देखी १५ सय भारतीय रुपैयाँ लिने गरेको भए पनि लकडाउन खुकुलो भएपश्चात् भने २ हजार देखी २ हजार २ सय भारतीय रुपैयाँ लिने गरेको बताएका छन् । यद्यपि आम बिदेसिने नेपाली नागरिक भने २ हजार ५ सय देखी ५ हजार भारतीय रुपैयाँ सम्म तिर्न बाध्य भएको पाइएको छ । 

खत्रीले आफूहरूले पनि सेवा गरे पछि मेवा पाउनु पर्ने भन्दै भारत बाट गाडी फर्किदा गाडी आधा खाली आउने भएकोले पनि भाडा दर निश्चित नतोकिएको पनि जिकिर गरेका छन् । 

उनले भने, ‘हामी सही छौँ त म भन्दैन । हामीहरूले ४० प्रतिशत गल्ती गरेको भए ६० प्रतिशत नागरिकलाई, यात्रुलाई फाइदा हुने काम गरेका छौँ । हामी बाट केही कमी कमजोरी भइरहेका छन् भने सुध्रिने मौका दिनु पर्‍यो । सुझावको अपेक्षा गर्दछौँ ।’

साथै खत्रीले एजेन्टहरूले कागजमा लेखेर काम गर्ने गरेको दाबी गर्दै उनीहरूले पनि यात्रुलाई आफूहरूकै गाडीमा पठाउने गरेको र पछि यात्रु सँग टिकट माग्दा टिकट समेत नदेखिएको र बढी भाडा लिएको भेटिएको बताए । यसले गर्दा हामी माथि पनि प्रश्न उठ्ने गरेको छ । बिचमा बढी भाडा असुल्ने यात्रुलाई झुक्काउने, दुःख दिने यी एजेन्टहरूलाई नियन्त्रण, नियमन गर्न जरुरी रहेको उनको भनाई थियो ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी नेपाल भारत यातायात व्यवसायीहरूले अनधिकृत रूपमा फाइदा लिइराखेको भए पनि पीडित मान्छेले जाहेरी नदिँदा र प्रमाण, आधारको कमी भएका कारणले कानुनी कारबाही गर्न नसकेको बताए । यद्यपि सो कार्यमा संलग्न व्यक्तिहरू लाई निगरानीमा राखेको अधिकारीले बताए । 

अधिकारीले, 'यो विषयमा हाम्रो पनि ध्यानाकर्षण भएको छ । ठ्याक्कै प्रमाणको अभावमा कानुनी कारबाहीको दायरमा ल्याउन नसकिएको हो । केही व्यक्तिहरू हाम्रो निगरानीमा छन् । समस्यामा परेका यात्रुहरूले ठ्याक्कै प्रमाण सहितको उजुरी नदिई दिँदा समस्या भइरहेको हो । प्रमाण फेला पार्ने बित्तिकै हामी उनीहरू विरुद्ध मुद्दा नै चलाउँछौँ ।' उनले भने ।

यी यावद विचार तथा तथ्यहरूबाट के कुरा प्रस्ट भइरहेको बुझ्न सकिन्छ भने, नेपालबाट भारत चल्ने बस व्यवसायी तथा सवारी धनीहरू  बिना लगामका घोडा हुन् । न उनीहरूको लागी कुनै निश्चित नीति छ । न कुनै कानुन नै,  यात्रुबाट सेवा दिए बाफतको भाडा दर (शुल्क) तोक्ने कुरा त आकाशको फल आँखा तरी मर भन्ने उखान जस्तै सिद्ध भएको छ ।

यातायात व्यवसायी र अझ सिमानाकामा टिकेट बेच्ने वैद्य, अवैध के आधारमा काम गरिरहेका छन् । त्यसको समेत ठेगान नभएका दलालहरूले त झन् मन लाग्दी भाडा असुलेर भोको पेट पाल्न, जिउ ज्यान जोगाउन भारत लगायत तेस्रो मुलुक जाने नागरिकहरू बाट बढी भाडा असुली, सीमा पार गर्दा पिडा भोग्नु त नेपालीहरूको नियति नै हो कि ? जस्तो बनाई दिएका छन् ।  यी यावद अवस्थामा कुनै पनि नागरिकको स्वतन्त्रपुरमा बाच्न पाउने, आफूले चाहेको सकेको चिज बस्तुको प्रयोग गर्न पाउने, लगायतको अधिकार कसरी सुनिश्चित हुन्छ ? तिनै नागरिकले कमाएर पठाएको रेमीट्यान्सबाट देश धानी रहेको सरकारले उनीहरूको अधिकारको अधिकार सुनिश्चित गर्न पनि जरुरी छ ।  

 



शुक्रबार ०८, असोज २०७८ ०८:३९ मा प्रकाशित

#त्रिनगर भन्सार

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस