लोपोन्मुख सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

लोपोन्मुख  सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार  : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।लोपोन्मुख सोनाहा जातिलाई राज्यले आदिवासी जनजातिका रूपमा सूचीकृत गर्नुपर्ने माग गर्दै सोनाहा विकास समाजले शुक्रबार बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सोनाहा जातिको संरक्षण र सम्वद्र्धन गर्न नसके अस्तित्व नै लोप भएर जाने बताए।सोनाहा जातिलाई राज्यले सूचीकरण नगरेका कारण राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधाबाट वञ्चित हुनुपरेकाले राज्यले लोपोन्मुख सोनाहा जातिको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको उनले बताए।

मुख्यमन्त्री भट्टले सर्वोच्च अदालतले नै सूचीकरण गर्न सरकारलाई निर्देशन दिइसकेकाले सोनाहाको सूचीकरण कसैले रोक्न नसक्ने बताए। उनले सोनाहा जातिलाई सूचीकृत गर्न सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीयसरकारलाई आग्रह गर्ने आश्वासन दिए। सूचीकरणका लागि सोनाहा समुदाय आफैँ सक्रियतापूर्वक लाग्नुपर्ने बताउँदै उनले भने, “कमैया र दलित समुदायले आफैँले सङ्घर्ष गरेर अधिकार लिएको उदाहरण सोनाहाले सिक्नुपर्ने हुन्छ।”
 
सोनाहा समुदायले परम्परादेखि नै नदीमा सुन चाल्ने, माछा मार्नेलगायतका काम गर्दै आएका छन्। सोनाहाले सूचीकरण नहुँदा सुन चाल्ने, माछा मार्ने, डुङ्गा चलाउनेदेखि बास, गाँस, कपास, शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकार, रोजगारी र सामाजिक सुरक्षासमेतमा वञ्चित हुनुपरेकोसमाजका अध्यक्ष बलबहादुर सोनाहाले गुनासो गरे। सोनाहा जातिको कैलाली, कञ्चनपुर र बर्दियामा गरी तीन जिल्लामा एक हजार २०० जनसङ्ख्या रहेको जनाइएको छ। सूचीकरण भएन भने सो सङ्ख्या लोप भएर जाने चिन्ता सो समुदायको चिन्ता छ।