जर्मनीमा आज आमचुनाव हुँदै : चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा

जर्मनीमा आज आमचुनाव हुँदै : चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा

युरोपियन देश जर्मनीमा आज आमचुनाव हुँदैछ । चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २००५ देखि लगातार १६ वर्षसम्म शासन गरेकी ६७ वर्षीय मर्केलले यसअघि नै यो चुनावमा नलड्ने बताउनुभएको थियो । मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनावलाई निक्कै महत्त्वका साथ हेरिएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि यो चुनाव एक अर्को युगको सुरुवात हुने समाचार संस्था रोयटर्सले जनाएको छ । जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ ।

जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन् । तिनै सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ । निर्वाचनको परिणाम आजै आउनेछ । मर्केल विश्वका शक्तिशाली व्यक्तिको सूचीमा समेत पर्नुभएको थियो ।