एभरेष्ट एकेडेमीले प्रस्तुत गरेको ‘तेरी खान्या कोरोना’ लाई उत्कृष्ट नाटकको उपाधि

एभरेष्ट एकेडेमीले प्रस्तुत गरेको ‘तेरी खान्या कोरोना’ लाई उत्कृष्ट नाटकको उपाधि

काठमाडौँमा सम्पन्न भएको पहिलो एस.जी. राष्ट्रिय एकल नाटक महोत्सवमा अत्तरिया स्थित एभरेष्ट एकेडेमीले प्रस्तुत गरेको नाटक ‘तेरी खान्या कोरोना’ ले उत्कृष्ट नाटकको उपाधि जित्न सफल भएको छ ।

उक्त नाटकमा एभरेष्ट एकेडेमीकै कक्षा दशका विद्यार्थी हेमन्त भट्टको अभिनय रहेको थियो भने नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गरेका थिए । अवस्थी विगत लामो समयदेखि काठमाडौँमा रङ्गमञ्च तथा विभिन्न टेलिसिरियल तिर सक्रिय रूपमा काम गर्दै आइरहेका छन् ।

देशभरबाट करिब २ सय ५० को हाराहारीमा नाटकहरू प्रतिस्पर्धाका लागि आएका थिए जसमध्ये ३० वटा नेपाली र १६ वटा अन्तर्राष्ट्रिय नाटक मञ्चनका निमित्त छनौट भई ती मध्य ३ वटा नाटक उत्कृष्ट नाटकको रूपमा पुरस्कृत भएका थिए ।

जुन ३ वटा मध्ये एभरेष्ट एकेडेमीको नाटक पनि एक रहेको थियो । कोरोनाले गर्दा विद्यार्थीहरूमा परेको असरका बारेमा विषयवस्तु समावेश गरेर नाटक निर्माण गरिएको थियो । नाटकमा सेट तथा लाइटमा सुनिल पन्त र दीपक भट्टराईले सहयोग गरेका थिए ।

भाद्र २० गतेबाट शुरु भएको नाटक महोत्सवमा नाटकहरू भर्चुअल विधिबाट मञ्चन भएर असोज ९ गते भौतिक रूपमा नै एक कार्यक्रमको आयोजना गरी नतिजा प्रकाशन गर्दै महोत्सव समापन भएको थियो । यस एकल नाटक महोत्सवको आयोजना स्वस्थीश्री गुरुकुलले गरेको थियो भने महोत्सवका संयोजक रङगकर्मि टंक चौंलागाई रहेका थिए ।

नाटकमा यो उपलब्धि एभरेष्ट एकेडेमीका लागि पहिलो भने होइन । यो भन्दा पहिले गत फागुनमा पनि नेपाल सगिंत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, शैली थिएटर र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रद्वारा संयुक्त रूपमा आयोजना गरिएको १२औँ राष्ट्रिय बाल नाटक महोत्सवमा पनि एभरेष्टकै प्रस्तुति र निर्देशक पुष्पराज अवस्थीको लेखन तथा निर्देशन रहेको नाटक ‘भूमिका’ ले पनि उत्कृष्ट नाटकको उपाधि जित्न सफल भएको थियो ।

यसरी एभरेष्ट एकेडेमीले विगत तिन वर्षदेखि विभिन्न राष्ट्रिय नाटक महोत्सवमा प्रतिनिधित्व गरी विभिन्न उपलब्धि हासिल गर्दै आइरहेको छ ।

No description available.