आज ४२औं विश्व पर्यटन दिवस मनाइँदै

आज ४२औं विश्व पर्यटन दिवस मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४२औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। कोभिड-१९ महामारीबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन्।

दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।  ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए। उनका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ।

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’ मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताए।

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। गत वर्ष भर्चुअलरूपमा पर्यटन मन्त्रालयमा दिवस मनाइएको थियो। कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरूपमै कार्यक्रम गर्न लागिएको हो। दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले रक्तदान कार्यक्रम गर्दै छ।

नेपाल पर्वतारोहण सङ्घले पनि दिवसको अवसर पारेर सोमबार नागपोखरीस्थित आफ्नो नवनिर्मित भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम राखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घको भवन उद्घाटन गर्ने संस्थाले जनाएको छ।

कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य संख्यामा पर्यटक आउन सकेनन्। पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख ३० हजार ८५ मात्र छ। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए।