पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध भए सँगै ‘पर्यटनको ढोका खुल्यो’

पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध भए सँगै ‘पर्यटनको ढोका खुल्यो’

कोभिड–१९ विरुद्धको खोप पूरा गरी आउने विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने नयाँ प्रावधानले नेपालमा पर्यटन सम्भावनाको ढोका खुलेको होटल सङ्घ नेपाल९हान०ले जनाएको छ । हानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नाका खोल्ने तथा क्वारेन्टाइन बस्नु नपर्नेजस्ता कार्यले उत्साहित भएको उल्लेख गरेको छ ।

“हामीले सम्पूर्ण सेवा बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ । सरकारले हालै मात्र विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थासम्बन्धी आदेश २०७८ जारी गर्दै यात्रासम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । हानले आदेशको पूर्ण कार्यान्वयनका लागि पनि आग्रह गरेको छ ।

विदेशबाट आउने पाहुनालाई खोपको मात्रा पूरा गरेका ९५ प्रतिशतभन्दा बढी कर्मचारीले सेवा उपलब्ध गराउने र त्यसबाट सङ्क्रमण न्यून हुने हानले जनाएको छ । त्यस्तै हानले विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण पर्यटन व्यवसायी एक स्वर गरी अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई ‘रेड जोन’बाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु अति आवश्यक रहेको पनि हानको विज्ञप्तिमा उल्लेख छ । देशमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा बढी नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा यसका लागि पहल हुनुपर्ने हानले जनाएको छ ।

त्यस्तै द्विविधा भएका विषयमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि लागू गर्न हानले आग्रह गरेको छ ।