दार्चुलाका नौ वटै पालिकाको अधिवेशन सम्पन्न

दार्चुलाका नौ वटै पालिकाको अधिवेशन सम्पन्न

दार्चुला । दार्चुला नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको पाँच स्थानीय तहमा सहमति र चार स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ ।

मालिकार्जुन गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, अपि हिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ भने लेकम गाउँपालिका, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिकामा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको हो ।

शनिवारबाट सुरु भएको पालिका अधिवेशनमा पहिलो दिन चार स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको र दोस्रो दिन (आज) अन्य चार स्थानीय तहमा चुनाव तथा एक स्थानीय तहमा सहमतिमै नेतृत्व चयन गरिएको नेपाली काँग्रेस दार्चुलाले जनाएको छ । यसैबिच महाकाली नगरपालिकामा शीर्ष तीन पदका लागि चुनाव भएको छ ।

आइतबार भएको सभापतिको निर्वाचनमा चन्द्र सिंह विष्ट निर्वाचित हुनुभएको छ । महाकालीमा सभापतिका लागि वडा नम्बर ७ का तारादत्त जोशी र वडा नम्बर ८ का वडाध्यक्षसमेत रहेका विष्टबिच चुनावी प्रतिस्पर्धा भएको थियो । १ सय ५४ मतदाता रहेको महाकालीमा १ सय ४७ मत खसेको थियो । १ सय ४७ मध्ये सभापतिमा निर्वाचित विष्टले ९२ मत र प्रतिद्वन्द्वी जोशीले ५१ मत प्राप्त गरे । यस्तै महाकालीमा उपसभापति र सचिव पदका लागि पनि चुनाव भएको छ ।

उपसभापतिमा हंशा अवस्थी र करन सिंह कार्की तथा सचिवमा हरिश महर र दिनेश राज जोशी निर्वाचित भएका छन् । यस्तै ब्याँस गाउँपालिका सभापतिमा नरेन्द्र दत्त भट्ट निर्वाचित भएका छन् । भट्टले वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका मंगलसिंह धामीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

दुहुँ गाउँपालिकामा नरेन्द्र सिंह कुँवर सभापतिमा निर्वाचित भए । लेकम गाउँपालिकामा शनिवार भएको निर्वाचनमा मोहनदेव जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाध्यक्ष समेत रहनुभएका कमलापती मिश्र सभापतिमा चयन भएका छन् । शैल्यशिखर नगरपालिकामा दुई दिनसम्मको छलफलबाट सहमतिमै नेतृत्व चयन गरिएको छ । शैल्यशिखर नगर सभापतिमा मोहन सिंह साउद चयन हुनुभएको हो ।

दार्चुलाका नौ वटै स्थानीय तहमा शनिवार नै अधिवेशन उद्घाटन भएको थियो । नौगाड गाउँपालिका सभापतिमा प्रेम सिंह धामी, मालिकार्जुन गाउँपालिका सभापतिमा किसन सिंह सामन्त, अपि हिमाल गाउँपालिका सभापतिमा सोभन सिंह लोथ्याल र मार्मा गाउँपालिका सभापतिमा धनञ्जय जोशी सर्वसम्मत चयन भएका छन् ।