एमालेकाे विराेधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभाबाट पारित

एमालेकाे विराेधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज बसेको राष्ट्रिय सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।

सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथिको दफाबार छलफल अगाडि बढाउनुभयो।

दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्यो । दुवै विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमवार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधि सभामै पठाएको छ ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाले पारित गरेको सन्देश पेस हुनेछ । र प्रतिनिधि सभाले सभामुख हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जाने छ । राष्ट्रिय सभाको अर्को बैठक आउँदो  १७ गते बस्ने छ ।