अछाममा असोज ४ गतेदेखि वेपत्ता एमाले नेता रावत मृत भेटिए

अछाममा असोज ४ गतेदेखि वेपत्ता एमाले नेता रावत मृत भेटिए

अछाम । अछाममा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन् । असोज ४ गतेदेखि बेपत्ता रहेका उनी बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको रवा लेकमा मृत अवस्थामा भेटिएका हुन् ।

असोज ४ गते जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत सोही दिनको रातिदेखि बेपत्ता रहेका थिए । स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा रावतको शव सोमवार बिहान कालारवा लेकको जङ्गलमा भेटिएको हो ।

मोबाइल लोकेसनका आधारमा खोजी गर्दै जाँदा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । रावत २०७४ मा स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेदवार बनेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।