प्रहरी नागरिक सँगै छ, चाडबाडमा कुकुर र ड्रोनबाट समेत निगरानी गर्छौँ : एसपी अधिकारी

प्रहरी नागरिक सँगै छ, चाडबाडमा कुकुर र ड्रोनबाट समेत निगरानी गर्छौँ : एसपी अधिकारी

धनगढी । चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर कैलाली प्रहरीले दसैँ तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । 

धनगढी उप-महानगरपालिका र कैलाली जिल्ला का अन्य भू-भाग गरी कैलाली जिल्ला लाई दुई भागमा विभाजन गर्दै विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले धनगढी खबर सँग कुरा गर्दै भने, ‘हामी नागरिकको सुरक्षामा सधैँ प्रतिबद्ध छौँ । अब अहिले भिडभाड हुने दसैँ, तिहार र छठ लगायतका संवेदनशील पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगी लगायतका आपराधिक गतिविधिलाई ध्यान दिँदै विशेष सुरक्षा योजना लागु गरिएको छ ।’  

‘यस अन्तरगत कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका क्षेत्रलाई एक र बाकी अरू भूभागलाई गरी सुरक्षा दृष्टिकोणले निगरानी गर्नको लागी दुई भागमा विभाजन गरेको छ ।  जिल्लाभरि सादा पोसाकका प्रहरी लगायत विभिन्न कमाण्ड पोष्टका प्रहरी गरी जिल्ला भर करिब साढे सात सयको हाराहरिमा प्रहरी खटाएका छौँ भने  सीमा नाकामा सुरक्षाकर्मी सँगै तालिम प्राप्त कुकुर परिचालन र ड्रोनबाट समेत निगरानी गर्ने योजना बनाएका छौँ ।’ उनले भने ।

त्यस्तै, यो चाडपर्वलाई सबैले सुरक्षित तरिकाले बनाउने व्यवस्था मिलाउनको लागी जिल्ला भरीका सुरक्षा निकाय तथा प्रहरीले त्यही अनुसारको काम गरी रहेको बताउँदै प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले चाडबाडको समयमा सवारी दुर्घटना न्यूनीकरण होस भन्नको कुरालाई समेत मध्यनजर गर्दै प्रहरीले कैलालीका विभिन्न स्थानमा नागरिक सहायता कक्ष, रि-फ्रेस सेन्टर स्थापना र ट्राफिक प्रहरीलाई समेत खटाइएको बताए । 

उनले भने, ‘सवारी दुर्घटना कम होस भन्नका निमित्त हामीले अत्तरिया देखी फल्टुडे, चिसापानी देखी अत्तरिया सम्म टाइम कार्डको व्यवस्था गरेका छौ भने त्रिनगर देखी चिसापानी सम्म आठ ओटा ठाउँमा यात्रु अथवा नागरिक सहायता कक्ष राखेका छौँ । भने तिन ओटा ठाउँमा ड्राइभरहरूको लागी रि-फ्रेस सेन्टर स्थापना गरेर जिल्ला भर त्यही अनुसार ट्राफिक प्रहरी पनि परिचालन गरेका छौँ ।’

साथै प्रमुख प्रहरी उपरीक्षक अधिकारीले आफ्नो सुरक्षा सतर्कतामा सबैभन्दा बढी भूमिका आफ्नो नै रहने भएकोले सबैले आफू स्वयमलाई चनाखो बनाएर राख्न र प्रहरी लाई समेत सुरक्षा अनुभूति दिलाउने कार्यमा सक्दो सहयोगी भूमिका निर्वाह गर्न आम नागरिक वर्गमा आग्रह गर्दै चाडपर्वका बेला कैलाली जिल्लाभर तत्काल परिचालन गरिएको जनशक्ति पर्याप्त नभए धनगढीमै रहेका प्रदेश प्रहरी कार्यालय, दंगा नियन्त्रण कार्यालय तथा सशस्त्र प्रहरी गणबाट थप जनशक्ति माग गर्दै जिल्ला बासीलाई शान्तिपूर्ण तरिकाले चाडपर्व मनाउने वातावरण बनाउने बताए ।