धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले विज्ञापन खोल्नका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको छ । सुदूरपश्चिममा २०७७ चैत ४ गते स्थापना भएको प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्न आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार लोकसेवा आयोग नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड र पदाधिकारी, कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको जनाएको छ ।
आयोगको कार्यालयले गत असार २५ गते नै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन भने पनि हालसम्म उपलब्ध नभएको आयोगका सचिव दुर्गा विष्टले बताए। ‘हामीलाई सम्पूर्ण विवरण प्राप्त भएपछि त्यसलाई आधार मानेर सबैभन्दा पहिले कुन पदका लागि विज्ञापन गर्ने भन्ने तयारी गर्छौ,’ उनले भने, ‘हाम्रो तयारी पूरा भएको छ । रिक्त दरबन्दीको विवरण प्रदेश सरकार र सबै स्थानीय तहबाट आएको छैन।’
सुदूरपश्चिम प्रदेश सरकारले रिक्त दरबन्दीको विवरण पठाउन ढिलाई गरेपछि पाठ्यक्रम तयार गर्न पनि समय लाग्ने देखिएको छ । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये केही मात्र विवरण पठाएका छन् भने अधिकांशले बेवास्ता गरिरहेका छन् ।
रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि मात्रै कुन पदका लागि विज्ञापन खोल्ने भन्ने बाटो खुल्ने छ । सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सबै स्थानीय तहले रिक्त दरबन्दीको विवरण पठाए अबको १५ दिनभित्रै विज्ञापन खोल्ने तयारीमा लोकसेवा आयोग छ।