‘गुलाब’ चक्रवातको असरले देशभर वर्षाको सम्भावना

‘गुलाब’ चक्रवातको असरले देशभर वर्षाको सम्भावना

बंगालको खाडीमा बिकसित ‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गते बंगालको खाडीबाट विकसित भएको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात  असोज १० गते भारतको उडिसामा जमिनमा अवतरण भएको छ । उक्त चक्रवात अहिले न्यून चापीय क्षेत्रका रूपमा पश्चिमतर्फ अगाडि बढिरहेकाले  त्यसको अप्रत्यक्ष परिधीय असरले नेपालमा आंशिकदेखि सामान्यसम्म मौसम बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने सम्भावमा छैन ।

मौसमविद् राजु प्रधानांगका अनुसार सोही प्रभावले मंगलबार बिहान चितवनमा मध्यमस्तरको वर्षा भएको छ । दिउँसो काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा सामान्यदेखि मध्यमस्तरको वर्षा हुन सक्ने उनले बताए । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।