चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ। हिजो दिउँसो निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा गैँडा मृत फेला परेको बताए। ’धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ’ बराललले भन्नुभयो, ’यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ।’ गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागेर आइतवार राति गैँडा मरेको भए पनि सोमवार मृत भेटिएको बरालले बताए।
’हामीले ट्रयापिङ गर्दा जिउँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्यो’, उनले भने। गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ। चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन्। राष्ट्रिय गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।