बोगटानबासीका दुःखका दिन अन्त्य भएः मुख्यमन्त्री भट्ट

बोगटानबासीका दुःखका दिन अन्त्य भएः मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बोगटानबासीका दुःखका दिन अन्त्य भएको बताएका छन्। सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने हालै ट्र्याक जोडिएको सडकको अनुगमनका लागि डोटीको बडिकेदार गाउँपालिका पुगेका उनले वर्षौँपछि सडक जोडिएका कारण यहाँका नागरिकको दुःख अन्त्य भएको बताएका हुन्।

सडक अनुगमनका क्रममा आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री भट्टले सहजपुर–बोगटान सडक सुञ्चालन हुने भएकाले अब यहाँका नागरिकलाई घरैमा रोजगारी मिल्ने बताए। उनले भने, “हाम्रो अथक प्रयासले वर्षौँपछि सडक जोडिएको छ, सडक पूर्ण हुने बोगटानवासीको सपना पनि पूरा भएको छ, अब यहाँका फलफूल तथा तरकारीले बजार पाउने छन्, नागरिकलाई घरैमा रोजगारी मिल्नेछ।”

मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्थापनापछि सुदूरपश्चिममा सानाठूला गरी थुप्रै विकास भएको दाबी गरे। “सानोतिनो विकासका कामका लागि केन्द्र सरकारमा धाउनुपर्ने परम्परा अन्त हुनाका साथै प्रदेशमा लामो समयदेखि निर्माण नभएका योजना पनि सम्पन्न भएका छन्,” उनले भने, “प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा थुप्रै विकासका कामहरू गरेका छन्, जो क्रमिक रुपमा सम्पन्न हुँदैछन्।” सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने सडक जोडिएपछि अब यहाँका नागरिकको घरैमा गाडी चढ्न पाउने सपनासमेत पूरा भएको उनके भनाई थियो। 

यसैगरी उनले हालै मात्रै जोडिएको उक्त सडक कालोपत्रका लागि प्रदेश सरकारले पहल गर्नेसमेत आश्वासन दिए। उक्त सडक शिलान्यास भएको कम्तीमा पनि ३५ वर्षपछि गएको आइतरबार अर्थात् असोज ३ गते जोडिएको हो।सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाखको लागतमा निर्माण भएको हो।

विसं २०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको निर्वाचनदेखि चर्चामा आएको बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकमा खुसियाली छाएको छ। उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरी ट्र्याक जोडिएको हो। विसं २०४३ देखि सडक निर्माण कार्य सुरु भएको उक्त सडकको बल्ल ट्र्याक जोडिएको भन्दै यहाँका नागरिक खुसियाली मनाइरहेका स्थानीयवासी हिक्मत देउवाले बताए।

कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई निकै राहत भएको छ।

उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआईसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन्। सडक सुविधा नभएका कारण ती क्षेत्रका किसानले उत्पादन गरेका वस्तु बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेका थिए।

सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने भन्दै किसान बढी खुसी भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार ९हल्दी० तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ। यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो।